खेल

डेब्युमै मिलरको ‘सरप्राइज’

विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित दक्षिण अफ्रिकाका डेविड मिलरले कीर्तिपुरमा नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन कुनै समय लगाएनन्।  

पहिलोपल्ट नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमा उत्रिएका मिलरले सुरुमै आफ्नो छवि देखाए। नेपाली क्रिकेटप्रेमीलाई उनले आफ्नो ब्याटिङको झलक देखाए। त्रिवि क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध उनको ब्याट चम्कियो। कर्णालीका समर्थकले उनको उत्कृष्ट प्रदर्शन हेर्न त पाए, आफ्नो टोली कर्णालीको जित भने देख्न पाएनन्।

डेब्युमा मिलर शतकबाट सात रन मात्र टाढा रहे। सुदूरपश्चिमले १७७ रनको चुनौतीपूर्ण लक्ष्य दियो। तर, कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। इनिङको पहिलो बलमै कर्णालीले विकेट गुमायो। दुई ओपनर नै छिटै गुमेपछि मिलेर मैदानमा आए।

उनको आगमनमा उपस्थित सुदूरपश्चिमका समर्थकले पनि हुटिङ गर्दै उत्सव मनाए। त्यो उत्सवअनुरूप नै मिलरले खेल देखाए। सुरुमा उनले समय लिए। तथापि उत्कृष्ट फिनिस गर्दै उनले कठिन स्थितिमा इनिङ कसरी अगाडि बढाउने देखाइदिए। हारपछि कर्णालीका बलर नन्दन यादवले पनि मिलरले आफ्नो ब्याटिङबाट कसरी खेललाई अघि बढाउन सकिन्छ भन्ने देखाएको बताए। ‘उहाँसँग खेल्न पाउनु नै हाम्रा लागि ठुला कुरा हो। उहाँले आज धेरै पक्ष सिकाउनुभयो। कस्तो अवस्थामा कसरी खेल्नुपर्छ भन्ने देखाइदिनुभयो,’कर्णालीका बलर नन्दनले भने,‘मिलरसँग वर्षौंदेखि सँगै खेलेजस्तो अनुभव भएको छ।’ मिलरले आफूहरूलाई जहिल्यै ढोका खुला छ भन्ने गरेको पनि नन्दनले सुनाए।

अन्तिम ओभरमा उनले ईशान पाण्डेको बलमा चार छक्का हिर्काए। यो प्रदर्शनपछि मिलर ५५ बलमा ९३ रन बनाई अविजित रहे। उनको इनिङमा पाँच चौका र सात छक्का रह्यो तर अर्को छेउबाट पर्याप्त साथ नपाउँदा कर्णाली भने ठुला स्टारको आगमनमा पराजित भयो। मिलरले सुदूरपश्चिमका बलरविरुद्ध सुझबुझपूर्ण ब्याटिङ गरे। यस क्रममा उनले एकपल्ट जीवनदान पनि पाए। सुरुआती पाँच विकेट सस्तैमा गुमाउँदा कर्णाली ४९ रनमै सीमित भएको थियो। मिलरले कप्तान सोमपाल कामीसँग मिलेर कर्णालीको इनिङ सम्हाल्ने प्रयास गरे।

छैटौं विकेटका लागि यी दुईबिच ३६ रनको साझेदारी बन्यो। १५औं ओभरमा सोमपाल ८ रनमा आउट भएपछि मिलर फेरि एक्लिए। अन्तिम ओभरमा मिलरले २५ रन जोड्दै हारको अन्तर कम गराए। मिलरको ब्याटबाट सात छक्का र पाँच चौका निस्कियो। आवश्यक रनरेट र लगातार विकेटले कर्णाली लक्ष्यसम्म पुग्न सकेन।

अरिफुल इस्लाम खाता नखोली आउट भए भने मार्क वाटले ४ रन मात्रै बनाउन सके। दीपक डुम्रेले १८, पवन सर्राफले पाँच र हुसेन तलतले एक रन जोडे। कप्तान सोमपालको योगदान ८ रनमा सीमित रह्यो। खेलपछि कर्णालीका बलर नन्दनले भने हारको कारण बलिङलाई माने। ब्याटिङ गर्न सहज नभएको पिचमा ठूलो योगफल बनाउन दिनु नै टोलीका लागि महँगो साबित भएको उनको प्रतिक्रिया थियो।

‘हामीले बलिङ राम्रो गर्न सकेनौं। त्यो पिचमा १४० रन लक्ष्य पछ्याउन सकिन्थ्यो। तर, बलिङमा राम्रो गर्न नसक्दा ठूलो लक्ष्य पछ्याउनुपर्‍यो,’ नन्दनले भने। सुदूरपश्चिमले भने ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

ओपनरद्वय विनोद भण्डारी र सइफ जैबले आक्रामक सुरुआत दिलाए। उनीहरूले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। पावरप्लेमा बिनाविकेट ६३ रन बटुले। विनोदले २२ बलमा २७ र सइफले २४ बलमा ३५ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा आउट भए। ब्रेन्डन म्याकमुलेनले २४ रन जोड्दा ईशानले २३ रन बनाए। आरिफ शेखले ११ रनको योगदान दिए।

अन्तिम ओभरतिर श्रीलंकन खेलाडी थरिन्दु रत्नायके र स्कट कुग्गेलिनले आक्रामक ब्याटिङ गरेपछि सुदूरपश्चिमले चुनौतीपूर्ण योगफल तयार पार्‍यो। रत्नायके १२ बलमा तीन चौका र एक छक्कासहित २२ रनमा अविजित रहे। कुग्गेलिनले ६ बलमा दुई चौका प्रहार गर्दै १३ रन बनाए। कर्णालीका वाटले दुई विकेट लिए। नन्दन, हुसेन र सूर्य तामाङले समाान एक विकेट लिए तर सुरुआती पावरप्लेमा रन नियन्त्रण गर्न नसक्दा कर्णालीले विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेन।

सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिन, हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह, अविनाश बोहोरा, अनिल खरेल र रत्नायकेले समान एक विकेट लिए। कर्णालीलाई सुरुदेखि दबाबमा राखेको सुदूरपश्चिमले मिलरको आक्रमणका बाबजुद सहज जित निकाल्यो।

खेलपछि सुदूरपश्चिमका कुग्गेलिनले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेकै कारण टोलीले जित हासिल गरेको बताए। मिलरको प्रदर्शनबारे प्रतिक्रिया दिँदै कुग्गेलिनले उनी उत्कृष्ट ब्याटर भएको र आफ्नो क्षमताअनुसार नै खेलेको बताए। यससँगै पाँच खेलबाट सुदूरपश्चिमले तेस्रो जित निकाल्यो। चार खेलबाट कर्णालीको भने यो दोस्रो हार हो।

मिलरको ९३ रनले एनपिएलमा उनको आगमनलाई सम्झनलायक बनायो तर क्रिकेट व्यक्तिगत प्रदर्शनले मात्रै जितिँदैन भन्ने तथ्य कर्णालीले फेरि एकपटक महसुस गर्‍यो। विश्वस्तरीय ब्याटरको विस्फोटक इनिङ हुँदाहुँदै पनि सामूहिक प्रदर्शन कमजोर हुँदा स्टारको डेब्युमा कर्णालीको जित अधुरै रह्यो।  

प्रकाशित: २१ कार्तिक २०८३ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App