एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली टेनिसको इतिहास त्यति सुखद छैन। जुन जापानमा जारी २०औं एसियाली खेलकुदमा पनि देखिएको छ। तथापि खराब इतिहास र निराशाजनक नतिजाबीच प्रदीप खड्का र अभिषेक बास्तोलाको जोडीले आशा दिएको छ।
हिगासियामा आइतबार भएको पुरुष डबल्सको प्रतिस्पर्धामा यो जोडीले पहिलो जित रच्यो। नेपाली टेनिसमा आशाको एउटा झिल्को दियो। जहाँ महिला सिंगल्सका प्रतिस्पर्धा भने नेपालका लागि खराब रह्यो।
नेपालका सिभाली गुरुङ र स्वस्तिका विष्टको यात्रा पहिलो चरणमै रोकिन पुग्यो। पुरुष डबल्समा नेपालले मंगोलियालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ। २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता कुल २१ खेलमा हो। प्रतिस्पर्धाहरू अब अन्तिम चरणमा पुगिसकेका छन्।
नेपाली करातेले भने सात विधामा चुनौती दिँदा पाँच विधामा पदकका लागि प्रतिस्पर्धा गर्यो। त्यसबाहेक अधिकांश खेलका चुनौती सकिएको छ। तथापि धेरै खेलको यात्रा पहिलो चरणमै टुंगिन पुग्यो। जहाँ पदकको दौडमा अघि बढ्ने नेपाली खेलाडीको संख्या सीमित रह्यो।
जसमा कराते अब्बल रह्यो। पहिलो जितमा नै नेपाली खेलाडीको संघर्ष देखियो। जितको तथ्यांक नेपालको सीमित बनिरहेको छ। त्यही सीमित सूचीमा रहेको छ टेनिसका प्रदीप र अभिषेकको जोडी। हिगासियामा पार्क टेनिसमा भएको पुरुष डबल्समा प्रदीप र अभिषेकको जोडीले मंगोलियाका मंखबतार बादराख र उरनुख जोलबादरको जोडीलाई २–१ सेटमा हरायो। यो जोडीले पहिलो सेट ६–२ ले सहजै आफ्नो पक्षमा पारेको थियो तर दोस्रो सेट भने ४–६ ले गुमायो। निर्णायक सुपर टाइब्रेकरमा भने नेपाली जोडीले धैर्य र अनुभव देखायो। त्यसैले १४–१२ को रोमाञ्चक जित सम्भव भयो। जितसँगै जारी एसियाली खेलकुदमा टेनिसले पहिलो सफलता हात परेको छ।
नेपालका लागि पहिलो चरण पार गर्ने सीमित खेलाडीमध्ये यो जोडी पनि बनेको छ। यो जितमा अनुभवको भूमिका महत्त्वपूर्ण रह्यो। अभिषेक लगातार चौथोपल्ट एसियाली खेलकुद खेल्दै छन्। प्रदीपले पनि यसअघि १९औं संस्करणमा खेलेका थिए। दुवैका लागि एसियाली खेलकुद नयाँ मञ्च होइन। तथापि उनीहरू फरक तयारीबाट यहाँ आएका हुन्।
अभिषेक लामो समयदेखि अमेरिकामा प्रशिक्षण गरिरहेका थिए भने प्रदीप नेपालमै रहेर तयारी गरेका खेलाडी हुन् तर कोर्टमा उनीहरूको तालमेलमा कमी देखिएन। जसको प्रशंसा नेपाली टेनिसकी मुख्य प्रशिक्षक रेणुदेनी कोन्डाले पनि गरिन्।
‘दुवैले राम्रो खेले। मंगोलियाले पनि निकै राम्रो चुनौती दिएको थियो तर नेपालले सुपर टाइब्रेकरमा राम्रो गर्यो,’ नेपालकी प्रशिक्षक कोन्डाले भनिन्, ‘र्यालीमा प्रदीपले धेरै दबाब बनाए। मेन पोइन्टमा अभिषेकले राम्रो गरे। त्यसैले जित सम्भव भयो।’
पुरुष डबल्समा आशा जगाउँदा सिंगल्सको यात्रा भने पहिलो चरणमै समाप्त भएको छ। नेपालका सिभाली गुरुङ र स्वस्तिका विष्ट दुवैले आइतबार हार बेहोरे। हिगासियामा पार्क टेनिसमा सिभाली दक्षिण कोरियाकी बाक दायोनसँग ६–१, ६–० ले पराजित भइन्। स्वस्तिकाले आयोजक जापानकी उचिजियोमसँग ६–१, ६–१ को सोझो सेटमा नतिजा सुम्पिइन्। सिभाली उमेरले सानै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिरहेकी खेलाडी हुन्।
ग्रान्ड स्लाम खेल्ने लक्ष्यसहित अघि बढिरहेकी उनले पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी छन् तर एसियाली खेलकुदमा अनुभवलाई नतिजामा बदल्न भने सकिनन्। प्रदर्शन पनि सन्तोषजनक रहेन।प्रशिक्षक कोन्डा भने दुवै खेलाडीको प्रदर्शनबाट खुसी देखिइन्। ‘जतिसक्दो राम्रो प्रदर्शन गरेर फर्कनेछौं। स्वस्तिका र सिभाली दुवै उमेरले साना छन्। त्यति धेरै अनुभव पनि छैन,’ उनले भनिन्, ‘तर एसियाका उच्च वरीयताका खेलाडीसँग खेल्दा पनि उनीहरूले आशालाग्दो प्रदर्शन गरेका छन्।’
नेपालले टेनिसमा पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गरिरहेको छ। जहाँ पुरुष डबल्समा प्रदीप र अभिषेकको यात्रा अगाडि बढ्ने आशा गरिएको छ।
तथापि उनीहरूको परीक्षा अझ कठिन हुनेछ। दोस्रो चरणमा यो जोडीले भारतका उच्च वरीयताका अनिरुद्ध चन्द्रशेखर र बालाजी नारायनस्वामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। एसियाली टेनिसमा भारतको स्तर र नतिजा राम्रो छ। त्यसैले नेपाली जोडीका लागि यो खेल चुनौतीपूर्ण हुने निश्चित छ तर प्रशिक्षक कोन्डा प्रदीप र अभिषेकले भारतविरुद्ध पनि आफ्नो क्षमता देखाउन सक्ने विश्वासमा छिन्। ‘भारत धेरै राम्रो टोली हो तर प्रदीप र अभिषेकको साझेदारी पनि निकै राम्रो देखिएको छ,’ कोन्डाले भनिन्, ‘यही तालमेल कायम राख्न सके भारतलाई कडा चुनौती दिनेछौं।’ आफ्ना खेलाडीले कोर्टमा राम्रो तालमेल देखाएको प्रतिस्पर्धात्मक खेल हुनेमा प्रशिक्षक विश्वस्त छिन्।
‘अभिषेकले अमेरिकामा प्रशिक्षण गरेका थिए। उनी यही एसियाली खेलकुदका लागि आएका हुन्। प्रदीपले नेपालमै तयारी गरेका थिए तर दुवैले राम्रो तालमेल देखाएका छन्,’ उनले भनिन्, ‘त्यसैले दोस्रो चरणमा उनीहरू कमजोर हुने छैनन्।’
प्रदीप र अभिषेकको जोडीले भने कम्तीमा पहिलो चरण पार गरेर नेपाली टेनिसलाई यो प्रतियोगितामा जीवित राखेको छ। एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडी पहिलो चरणमै रोकिएका छन्। करातेमा तेन्जिङ शेर्पाले कुमितेतर्फ कांस्य पदक जित्दा नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रोपल्ट एसियाली खेलकुदमा कांस्य जित्यो। पदककै आशा गरिएका खेलाडीसँगै धेरैको प्रदर्शन निराशाजनक रह्यो।
बक्सिङका खगेन्द्र रोकामगर, ब्याडमिन्टनका क्षितिज खनाल, पुरुष क्रिकेट टोली तथा टेबल टेनिसको मिक्स डबल्स (इभाना थापा र रुबिन महर्जन) ले पनि पहिलो चरण पार गरे। यस्तो अवस्थामा टेनिसको कोर्टमा प्रदीप र अभिषेकको जितले पदकको सुनिश्चितता त गरेको छैन तर नेपाली खेलाडीको प्रदर्शनमा एउटा जित दिए। अब यो यात्रा कति टाढासम्म पुग्ने भन्ने परीक्षा उनीहरूकै कोर्टमा हुनेछ।
प्रकाशित: १२ आश्विन २०८३ ०६:३० सोमबार



