खेल

एसिया कपमा पहिलो पटक फाइनलमा भारत पाकिस्तान भिड्दै, कसले मार्ला बाजी?

एसीसी एसिया कपको इतिहासमा पहिलोपटक फाइनलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दै छन्।

बिहीबार राति भएको सुपर फोरको अन्तिम खेलमा बाङ्गलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तानले फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो। भारत भने जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो।

आउँदो आइतबार एसिया कपको फाइनल खेल हुँदैछ। पाकिस्तान र भारत क्रिकेटको चिरप्रतिद्वन्द्वी हो। त्यस्तोमा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने हुँदा एसिया कपको फाइनल निकै रोमान्चक हुनेछ।

जारी प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक आमने-सामने हुँदैछन्। भारत र पाकिस्तानले खेलेको यसअघिको दुई खेलमा भारतले पाकिस्तानलाई हराएको छ। पाकिस्तान समूह चरणमा भारतसँग ७ विकेटले हारेको थियो। त्यस्तोमा भारतले सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्‍यो।

आइतबार हुने फाइनलमा भारतविरुद्ध पाकिस्तानलाई बदला लिने मौका हुनेछ। जारी प्रतियोगितामा दुई हारको बदला पाकिस्तानले फाइनलमा लिनेछ। यता, भारत पनि आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्ने लक्ष्यमा रहनेछ।

एसिया कपको १७औँ संस्करणमा आएर मात्र भारत र पाकिस्तान फाइनलमा भिड्न लागेका हुन्। एसिया कपको सर्वाधिक विजेता राष्ट्र भारत हो। भारतले ८ पटक एसिया कपको उपाधि जितेको छ। त्यस्तोमा पाकिस्तानले २ पटक मात्र उपाधि हात पारेको छ।

टेस्ट म्याचमा भारत र पाकिस्तानले ५९ खेल खेलेका छन् जहाँ ९ पटक भारत विजय हुँदा पाकिस्तानले भारतमाथि १२ पटक विजयी हासिल गरेको छ।

त्यस्तै, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानले १३६ वटा खेल खेलमा छन् जहाँ पाकिस्तानले ७३ पटक जितेको छ भने भारतले ५८ पटक जित हात पारेको छ।

टी-२० आईमा टोली १५ पटक आमने-सामने भएका छन्। यस्तोमा भारतले पाकिस्तानलाई १२ चोटी हराएको छ भने पाकिस्तानले भारतलाई तीन पटक मात्र हराएको छ।

टी-२० आईमा भारत नै बलियो रूपमा देखा परेको छ। एसिया कप पनि सोही फर्म्याटमा छ। जारी प्रतियोगितामा भारत र पाकिस्तानको विवाद पनि चुलिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले एसिया कपको खेलका क्रममा मैदानमा गरेको गतिविधिका कारण पाकिस्तानी खेलाडी हरिस रौफ र साहिबजादा फरहानमाथि उजुरी गरेको छ।

गत आइतबार एसिया कपको सुपर फोरको खेलका क्रममा रौफ र साहिबजादाले समर्थकहरू उत्तेजित बनाउने किसिमको सेलिब्रेसन गरेको आरोपमा बिसिसिआईको ती दुई खेलाडीमाथि आइसिसीमा उजुरी गरेको हो। त्यस्तै, भारतीय खेलाडीले पाकिस्तानी खेलाडीहरूसँग खेलेको दुवै खेलमा हात मिलाएका थिएनन्।

यो अवस्थामा विवाद अनि उपाधिको लागि भिडन्त आइतबार यूइईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रगंशालामा फाइनल खेल रोचक हुने पक्का छ।

प्रकाशित: १० आश्विन २०८२ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App