अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
यसअघि उनले जुन २०२५ मा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। म्याक्सवेलले लिस्ट ए र प्रथम श्रेणी क्रिकेटबाट पनि सन्यास लिइसकेका छन्।
यद्यपि, उनी बिग ब्यास लिग (बीबीएल) मा मेलबर्न स्टार्सका लागि खेल्न भने जारी राख्नेछन्। स्टार्ससँग उनको सम्झौता सन् २०२७–२८ को सिजनसम्म रहेको छ। साथै, उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत खेल्न सक्नेछन्।
म्याक्सवेलको अन्तिम अन्तर्राष्ट्रिय खेल फेब्रुअरीमा ओमानविरुद्ध टी–२० विश्वकपमा खेलेका थिए। उक्त खेल अष्ट्रेलियाको समूह चरणको अन्तिम खेल थियो।
म्याक्सवेलले सन् २०१२ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले १३० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८९७ रन बनाएका छन्। उनी अष्ट्रेलियाका लागि यस फर्म्याटमा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनको नाममा पाँच टी–२० अन्तर्राष्ट्रिय शतक रहेको छ।
म्याक्सवेलले अष्ट्रेलियाका लागि सात टेस्ट खेल्दै ३३९ रन बनाएका थिए। उनले २०१७ मा राँचीमा भारतविरुद्ध टेस्ट शतक बनाएका थिए।
म्याक्सवेलले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे टोली व्यवस्थापनसँग लामो समयदेखि छलफल भइरहेको बताएका छन्।
प्रकाशित: १७ कार्तिक २०८३ १२:१९ मंगलबार



