खेल

गौतमबुद्ध रंगशाला अलपत्र

रंगशालामा पनि राजनीति

फाइल तस्बिर

चितवनको भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएको छ।

निर्माण सम्पन्न गर्ने निर्धारित समय सकिन करिब पाँच महिना मात्र बाँकी रहे पनि हालसम्म भौतिक प्रगति ६० प्रतिशत मात्रै सम्पन्न भएको हिमालयन कालिञ्चोक बिबिआरका इन्जिनियर धमे्रन्द्र गुप्ताले जानकारी दिए। यही कम्पनीले निर्माणको ठेक्का पाएको हो।

‘अहिलेसम्म रंगशालाको वित्तीय प्रगति ४५ प्रतिशतजति र भौतिक प्रगति ६० प्रतिशतजति भएको छ,’ निर्माण कम्पनीका साइड इन्जिनियर गुप्ताले भने, ‘पाँच महिनामा सक्ने गरी बाँकी काम अगाडि बढाएका छौं।’ २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबिच २०८३ पुस २२ मा काम सक्ने गरी कुल ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले बिचमा पाँच महिना काम रोक्नुपरेको गुप्ताले बताए।

‘प्रदेश सरकारबाट नौ करोड रुपैयाँ विनियोजन हुनुपर्ने थियो। त्यो बजेट भुक्तानी नभएर पुसदेखि जेठसम्म काम बन्द भयो,’ उनले भने, ‘समयमा भुक्तानी भएको भए काम समयमा सकिन्थ्यो।’ उनका अनुसार रंगशाला निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न तीन महिनाजति म्याद थप गर्नुपर्ने हुन सक्छ। ३० महिनासम्म सक्ने गरी सम्झौता भए पनि अहिलेसम्म चार वटा प्यारापिटमध्ये तीन वटाको सकिएको उनले बताए। बाँकी एउटाको ढलान गर्ने तयारी गरिएको इन्जिनियर गुप्ताले बताए। ‘तीन वटा प्यारापिटको काम सबै सकिएको छ। बाँकी एउटा प्यारापिटको काम एक महिनाभित्र सक्छौं,’ उनले भने, ‘भिआइपी टावरको काम पनि सकिएको छ। एउटामा ब्रिकवालदेखि प्लम्बिङको काम भएर प्लाईको काम भइरहेको छ।’ 

उनका अनुसार पर्खालको काम पूरा भएको र मैदानको केही प्रतिशत काम भएको छ। ‘मैदानका लागि आवश्यक पर्ने सबै सामान आइसकेको छ। अहिलेसम्म मैदानको सबै २० प्रतिशतका सकिएको छ,’ उनले भने, ‘पानी रोकिएपछि त्यसको काम पनि सुरु गर्छौं।’ उनका अनुसार मैदानको काम दुई महिनामा सकिन्छ। चार वटा प्यारापिटमध्ये दुई वटाको ट्रस्टको काम बाँकी रहेको उनले बताए। विद्युत्, प्लम्बिङ, रङरोगन, टायललगायतको काम बाँकी छ।

२०७५ माघमा धुर्मुस-सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण गर्न सुरु गरेको थियो। घोषणासभामा तत्कालीन प्रधानमन्त्री, प्रतिपक्ष दललगायत कलाकारहरू सहभागीसमेत थिए। त्रिभुवन विश्वविद्यालयका नाममा रहेको २० बिघा जमिनमा रंगशाला निर्माण भइरहेको छ। जग्गा उपलब्ध गराएपछि धुर्मुस-सुन्तली फाउन्डेसनले सहयोग जुटाएर करिब तीन अर्ब रुपैयाँको लागतमा दुई वर्षभित्रै ३० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेको थियो तर सहयोग जुट्न नसकेपछि फाउन्डेसनले २०७८ भदौदेखि रंगशाला निर्माणको काम बन्द गरेको थियो। काम गर्न नसकेपछि फाउन्डेसनले सोही वर्षको पुस २ मा महानगरलाई स्वामित्व लिन पत्र लेखेको थियो।

५७ करोड १२ लाख रुपैयाँ बराबरको काम हुँदा उधारो १८ करोड ४३ लाख रुपैयाँ रहेको भन्दै धुर्मुस-सुन्तली फाउन्डेसन रंगशाला निर्माणबाट अलग भएको थियो। उक्त ऋण अझै चुक्ता भएको छैन। पछि फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि भरतपुर महानगरपालिका, संघ र प्रदेश सरकारको लगानीमा रंगशाला निर्माण भइरहेको छ। प्रदेश सरकारको ७० र महानगरपालिकाको ३० प्रतिशत लगानीमा रंगशाला निर्माण हुने भनिएको छ।

समयमा भुक्तानी नहुँदा निर्माण कार्यको प्रगति अपेक्षाअनुसार हुन नसक्दा तोकिएको समयभित्र सबै काम पूरा हुने आशंका बढेको छ। बाँकी अवधिमा निर्माणको गति तीव्र बनाइए मात्र निर्धारित समयमै रंगशाला सम्पन्न हुने भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्य बताउँछन्। ‘अब पेमेन्ट रोकिँदैन। उनीहरूले कामलाई तीव्रता दिए समयमै सकिन्छ,’ उनले भने, ‘ढिलो भए तीन चार महिना म्याद थप गर्नुपर्ला।’ उनका अनुसार अमेरिका इरान युद्धका कारण पनि कामले तीव्रता पाउन सकेको छैन।

अहिलेसम्म प्रदेश सरकारले २३ करोड रुपैयाँ हालेको छ। यस वर्ष सात करोड रुपैयाँ विनयोजन गरेको उनले बताए। यद्यपि यस रकमले नपुग्ने अनुमान उनको छ। ‘हामीले अहिलेसम्म चार करोड रुपैयाँ भुक्तानी गरेका छौं। प्रदेशले २३ करोड रुपैयाँ भुक्तानी गरेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्ष प्रदेश सरकारले सात करोड रुपैयाँ मात्र विनियोजन गरेको छ।’

महानगरपालिकाले यस आर्थिक वर्षमा रंगशाला निर्माणका लागि १४ करोड रुपैयाँ बजेट विनियोज गरेको छ। यसअघि संघ सरकारले १५ करोड रुपैयाँ रंगशाला निर्माणका लागि भुक्तानी गरेको थियो। उनका अनुसार प्रदेश सरकारले २२ करोड हाराहारीमा बजेट विनियोजन गर्नुपर्ने हुन्छ।

प्रकाशित: २६ श्रावण २०८३ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App