फिफाले २०२६ विश्वकपको फाइनल खेल सकिएपछि पनि त्यसबाट आम्दानी गर्ने योजना बनाएको छ।
फुटबलको सर्वोच्च निकायले फाइनलमा प्रयोग हुने मैदानका रियल दुबोका सेट पिसहरू सम्झाना (सुभेनिर)का रूपमा बिक्री गर्ने घोषणा गरेको छ।
फिफाका अनुसार मैदानका टुक्राहरूको सुरुआती मूल्य ४४५ डलर राखिएको छ। सबैभन्दा महँगो संस्करणको मूल्य ४,३०० डलर (करिब रु ५ लाख ९० हजार) हुनेछ।
अमेरिकी सञ्चारमाध्यम द एथलेटिक का अनुसार यस बिक्रीबाट फिफाले ११ मिलियन डलरभन्दा बढी आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।
विश्वकप फाइनल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो रंगशाला सामान्यतया एनएफएल टोली न्युयोर्क जायन्ट्स र न्युयोर्क जेट्सका खेलका लागि कृत्रिम सतह प्रयोग गर्ने भए पनि विश्वकपका लागि प्राकृतिक घाँसको मैदान तयार गरिएको छ। प्रतियोगिताका लागि फिफाले स्टेडियमको नाम पनि ‘न्यु जर्सी न्युयोर्क स्टेडियम’ राखेको छ।
यद्यपि, प्रतियोगिताका क्रममा धेरै खेलाडी र प्रशिक्षकले मैदानको गुणस्तरबारे असन्तुष्टि जनाएका थिए। प्राकृतिक दुबोको मैदानको अवस्था अपेक्षाअनुसार नरहेको भन्दै आलोचना गरिएको थियो।
फिफाको आधिकारिक स्टोरमा उपलब्ध विवरणअनुसार प्रत्येक सम्झाना (स्मारिका)मा फाइनलमा प्रयोग गरिएको वास्तविक मैदानको एउटा सानो भाग प्रिमियम एक्रिलिक केसमा सुरक्षित राखिएको हुनेछ।
फिफाले यसलाई फुटबल इतिहासको एउटा वास्तविक अंशको स्वामित्व दिने विशेष संग्रहणीय वस्तुका रूपमा प्रस्तुत गरेको छ।
स्टोरमा उल्लेख गरिएअनुसार प्रत्येक टुक्राको आकार १७.५ × १७.५ × १७.५ रहेको छ। तर उक्त मापन इन्च, सेन्टिमिटर वा मिलिमिटरमध्ये कुन एकाइमा हो भन्ने स्पष्ट गरिएको छैन।
फिफाले एक्रिलिक केसमा प्रामाणिकता पुष्टि गर्ने विशेष चिन्ह राखिएको जनाएको छ। साथै, आकर्षक डिजाइन गरिएको प्रिमियम बक्समा प्रस्तुत गरिने यी स्मारिकाहरू विशेषगरी सङ्कलक, फुटबल समर्थक र खेलप्रेमीलाई लक्षित गरिएको बताइएको छ।
यी स्मारिका हाल अमेरिका र युरोपका ठेगानामा मात्र पठाइनेछन्। फिफाले विश्वकप फाइनल सम्पन्न भएपछि मात्रै सबै अर्डर डेलिभरी गरिने जनाएको छ।
सबैभन्दा महँगो ४,३०० डलरको प्याकेजमा ३ × ३ इन्चको मैदानको टुक्रासँगै सुनले कुँदिएको प्रतिकृति टिकट, विश्वकप बलको सानो प्रतिकृति र क्रिस्टलबाट बनाइएको विश्वकप ट्रफीको प्रतिकृति पनि समावेश हुनेछ।
यसका अतिरिक्त ४४५ डलर, ४९० डलर र १,२०० डलर मूल्यका अन्य तीन संस्करण पनि बिक्रीमा राखिनेछन्। प्रत्येक मूल्य समूहमा अधिकतम २,०२६ वटा मात्र उपलब्ध गराइने फिफाले जनाएको छ।
यसअघि नै फिफाले विश्वकप फाइनलका नियमित टिकटको मूल्य २,३७० डलरसम्म निर्धारण गरिसकेको छ भने खाना तथा पेय पदार्थसमेत समावेश आतिथ्य (हस्पिटालिटी) टिकटको मूल्य ३,४५० डलर र २,५०० डलरसम्म राखिएको छ।
प्रतिवेदनअनुसार फाइनलमा प्रयोग हुने प्राकृतिक दुबो उत्तरी क्यारोलिनास्थित एक टर्फ फार्ममा उत्पादन गरिएको हो।
प्रतियोगिताका लागि सियाटल, एटलान्टा, न्यु जर्सी, भ्यानकुभर, आर्लिङ्टन र इन्गलवुडजस्ता सामान्यतया कृत्रिम सतह प्रयोग गर्ने सबै स्टेडियममा नयाँ प्राकृतिक दुबो मैदानमा बिछ्याइएको थियो।
तर फाइनलमा प्रयोग नगरिएका अन्य स्टेडियमका पिचहरूको भविष्यबारे भने फिफाले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
प्रकाशित: २८ असार २०८३ १२:१९ आइतबार

-600x400.jpg)

