नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५–५ ओभरमा छोट्टिएको रोमाञ्चक खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्समाथि ३५ रनको शानदार जित हात पारेको छ।
जितका लागि पाएको १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रनमै रोकिएको छ।
विशाल लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत निकै खराब रह्यो। इनिङ्सको पहिलो बलमै ओपनर शेरफेन रदरफोर्डलाई आन्द्रे रसेलले बोल्ड गर्दै शून्यमै पेभेलियन फर्काए।
कप्तान दीपेन्द्रसिंह ऐरी पनि क्रिजमा जम्न सकेनन्। ५ बल खेपेका उनी मात्र १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा रूपेश सिंहको हातबाट क्याच आउट भएपछि सुदूरपश्चिम १.३ ओभरमै ७–२ को कमजोर स्थितिमा पुगेको थियो।
त्यसपछि सैफ जेबले १० बलमा २ छक्कासहित १७ रन जोड्दै इनिङ्स उकास्ने प्रयास गरे पनि उनी रूपेश सिंहको शिकार बने। अन्तिमतिर स्कट कुगेलेइनले ६ बलमा ४ छक्का र १ चौकाको मद्दतले अविजित २८ रन तथा आरिफ शेखले ८ बलमा २ छक्कासहित अविजित १७ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जितसम्म डोर्याउन सकेनन्।
विराटनगरका लागि ब्याटिङसँगै बलिङमा पनि आन्द्रे रसेल नायक बनेका छन्। विष्फोटक ब्याटिङ हुने ५ ओभरको खेलमा उनले असाधारण बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर १ विकेट लिएका छन्। यस्तै एन्जेलो म्याथ्युजले १ ओभरमा १५ रन दिएर १ विकेट र रूपेश सिंहले १ ओभरमा १८ रन खर्चेर १ विकेट हात पारेका छन्।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो।
विराटनगरका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रन, आन्द्रे रसेलले अविजित २९ रन र लोकेश बमले २५ रनको विष्फोटक योगदान दिएका थिए। सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए।
प्रकाशित: १४ कार्तिक २०८३ २२:४३ शनिबार


