खेल

मालागालाई हराउँदै एट्लेटिको मड्रिडको विजयी सुरुआत

एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगामा विजयी सुरुआत गरेको छ। गएराति घरेलु मैदानमा भएको  खेलमा मालागालाई २–० ले पराजित गर्दै  उसले तीन अंक जोडेको हो।

खेलको पहिलो हाफमा एट्लेटिकोले बलमा पकड बनाए पनि मालागाले बलियो र अनुशासित रक्षात्मक प्रदर्शन गर्दै घरेलु टोलीलाई सहज अवसर दिएन। मालागाले समेत केही राम्रा अवसर सिर्जना गरेको थियो, तर एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए।

दोस्रो हाफमा ७०औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी ली काङ-इनले उत्कृष्ट व्यक्तिगत प्रयासपछि शानदार गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। क्लबका लागि उनको ला लिगा डेब्यु नै सम्झनलायक बन्यो। त्यसपछि एट्लेटिकोले दबाब कायम राख्दै ८५औँ मिनेटमा अग्रता दोब्बर बनायो। एलेक्स बाएनाले उत्कृष्ट फ्रिकिकमार्फत बललाई गोलमा परिणत गर्दै मालागाको पुनरागमनको सम्भावना समाप्त गरे।

जुलियन अल्भारेजको भविष्यलाई लिएर अन्योल तथा एन्टोइन ग्रिजम्यानको क्लबबाट बाहिरिएपछि एट्लेटिकोको आक्रमणमा केही कमजोरी देखिए पनि टोलीले पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक हात पारेको छ। मालागा भने आठ वर्षपछि शीर्ष डिभिजनमा उक्लिएको क्लब हो। एट्लेटिकोले अब दोस्रो खेलमा भिल्लारियलको सामना गर्नेछ।

ला लिगामा आज राति पनि एक खेल हुदैँछ। नेपाली समय अनुसार राति १२ः४५ मा हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको एलाभिसले रायो भालेकानोको सामना गर्नेछ।

 

प्रकाशित: ४ भाद्र २०८३ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App