खेल

अर्जेन्टिनाको ध्यान फाइनलमा छ : प्रशिक्षक स्कालोनी

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकपको सेमिफाइनलअघि आफ्नो टोली शारीरिक थकान वा प्रदर्शनलाई लिएर कुनै चिन्तामा नरहेको बताएका छन्।

विश्वकपको अन्तिम चारमा पुग्नु आफैंमा ठूलो उपलब्धि रहेको बताउँदै उनले  टोलीको सम्पूर्ण ध्यान दोस्रो पटक फाइनलमा स्थान बनाउनेतर्फ केन्द्रित रहेको बताए।

बिहीबार हुने सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीचको यो भेट खेलकुदीय दृष्टिले मात्र होइन, ऐतिहासिक पृष्ठभूमिका कारण पनि विशेष मानिन्छ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै टोली उत्कृष्ट मनोबलमा रहेको बताए।

‘हामी राम्रो अवस्थामा छौं र यो खेलको प्रतीक्षा गर्न सक्दैनौं। विश्वकपको सेमिफाइनल खेल्नु प्रत्येक खेलाडी र प्रशिक्षकको सपना हो। हामीलाई फेरि यो स्थानसम्म ल्याएकोमा खेलाडीहरूप्रति अत्यन्त आभारी छौं,’ उनले भने।

स्कालोनीले प्रतियोगितामा अर्जेन्टिनाले कठिन यात्रा तय गरेको स्वीकार गरे। नकआउट चरणका सबै खेल सहज नभए पनि टोलीले दबाबका बीच उत्कृष्ट मानसिकता देखाएको उनको भनाइ थियो।

उनले भने, ‘डेढ महिना अघि कसैले मलाई सेमिफाइनल पुग्ने प्रस्ताव गरेको भए म तुरुन्त स्वीकार्थें। त्यसैले हामी यहाँ कसरी आयौं भन्ने विषयमा मलाई कुनै गुनासो छैन। म आफ्ना खेलाडीहरूको आलोचना गर्न सक्दिन। हामी थाकेका छौं वा छैनौं, त्यसले कुनै अर्थ राख्दैन। यो विश्वकपको सेमिफाइनल हो।’

उनले अर्जेन्टिना नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा पुगेको बताए।

स्कालोनीले इंग्ल्याण्डविरुद्धको १९८६ विश्वकपको ऐतिहासिक खेल फुटबल इतिहासकै उत्कृष्ट क्षणमध्ये एक भएको बताए।

‘त्यो खेल सबैलाई सम्झना छ। विशेषगरी डिएगोको दोस्रो गोल। त्यो फुटबल इतिहासकै सबैभन्दा सुन्दर गोलमध्ये एक हो। कुनै पनि फुटबल समर्थकले त्यसलाई त्यही रूपमा सम्झन्छ,’ उनले भने।

यद्यपि, उनले अर्जेन्टिना–इंग्ल्याण्ड प्रतिस्पर्धासँग जोडिने फकल्याण्ड टापुसम्बन्धी राजनीतिक विवादलाई मैदानबाहिरै राख्नुपर्ने धारणा व्यक्त गरे।

‘त्यो हाम्रो इतिहासको दुःखद अध्याय हो। तर अहिले हामी फुटबल खेल्न आएका हौं। पुराना राजनीतिक घटनालाई यस खेलसँग जोड्न आवश्यक छैन। यो केवल फुटबल हो,’ स्कालोनीले स्पष्ट पारे।

स्कालोनीले इंग्ल्याण्डका प्रमुख खेलाडी जुड बेलिङ्घम र कप्तान ह्यारी केन अर्जेन्टिनाका लागि सबैभन्दा ठूलो चुनौती हुने स्वीकार गरे।

प्रतियोगितामा इंग्ल्याण्डका अधिकांश गोलमा यी दुई खेलाडीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूलाई रोक्न विशेष रणनीति अपनाइने बताए।

‘हामी सधैं विपक्षीका उत्कृष्ट खेलाडीलाई कसरी प्रभावहीन बनाउन सकिन्छ भन्ने विषयमा काम गर्छौं। आवश्यक परे केही परिवर्तन गर्न सक्छौं, तर सम्भवतः उही टोलीलाई निरन्तरता पनि दिन सक्छौं,’ उनले भने।

उनले थपे, ‘बेलिङ्घम र केन विश्वका उत्कृष्ट खेलाडीमध्ये पर्छन्। संसारका जुनसुकै प्रशिक्षकले पनि उनीहरूलाई आफ्नो टोलीमा चाहन्छन्।’

अर्जेन्टिना लगातार दोस्रो विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रदैछ।

प्रकाशित: ३१ असार २०८३ १९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App