साबिक विजेता अर्जेन्टिनाले मंगलबार अल्जेरियाविरुद्धको खेलसँगै फिफा विश्वकप २०२६ को यात्रा सुरु गर्दैछ।
कप्तान लियोनेल मेसीको सम्भवतः अन्तिम विश्वकपलाई सुखद बिदाइ बनाउने चुनौतीमा रहेका प्रशिक्षक लियोनेल स्कालोनीले उमेर ढल्किँदै गएको टोलीमा युवा खेलाडीहरूलाई विश्वास गर्नुपर्ने दबाब बढेको छ।
लगातार तीनवटा ठूला प्रतियोगिता जिताएर कीर्तिमान बनाएका प्रशिक्षक स्कालोनीले यसपटक पनि कतार विश्वकपकै अनुभवी टोलीमाथि बढी विश्वास देखाएका छन्। उनको २६ सदस्यीय टोलीमध्ये १७ खेलाडी कतार विश्वकपकै छन्।
यद्यपि, टोलीको औसत उमेर २९ वर्षभन्दा बढी छ भने कप्तान मेसी, गोलकिपर एमिलियानो मार्टिनेज र मिडफिल्डर रोड्रिगो डे पउलसहित ९ खेलाडी ३० वर्षको उमेर कटेका छन्।
लगातारको व्यस्तताका कारण अर्जेन्टिनाका मुख्य खेलाडीहरू थकित देखिएका छन्। पछिल्ला दुई सिजनमा मिडफिल्डर एन्जो फर्नान्डेज र स्ट्राइकर जुलियन अल्भारेजले क्लब र देशका लागि समान १२१ खेल खेलेका छन्।
त्यस्तै, ११९ खेल खेलेका लिभरपुलका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको फर्म खस्किएको भन्दै पूर्वविङ्गर जर्मेन पेनान्टले उनलाई मैदानमा दर्शक मात्र बनेको आरोप लगाएका थिए।
अल्जेरियाविरुद्धको खेलमा चोटका कारण डिफेन्डर निकोलस टागलियाफिको र नाहुएल मोलिना पूर्ण फिट छैनन्। टागलियाफिकोको स्थानमा २१ वर्षीय युवा लेफ्ट-ब्याक भ्यालेन्टिन बार्कोको चर्चा भए पनि स्कालोनीले रक्षात्मक रूपमा बलिया लिसान्ड्रो मार्टिनेजलाई अल्जेरियाका भेट्रान खेलाडी रियाद महरेजलाई रोक्ने जिम्मेवारी सुम्पिँदै छन्।
अर्का घाइते डिफेन्डर गोन्जालो मोन्टिएलको अनुपस्थितिमा जियुलियानो सिमोनीले राइट-ब्याकको भूमिका निभाउने सम्भावना छ। घाइते स्ट्राइकर अल्भारेजको स्थानमा २०२४ कोपा अमेरिकाका गोल्डेन बुट विजेता लाउटारो मार्टिनेजले अग्रपंक्ति सम्हाल्नेछन्।
इटालीको कोमोबाट सेस फेब्रिगासको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका २१ वर्षीय मिडफिल्डर निको पाज घुँडाको सामान्य चोटका कारण सुरुआती सेटमा नपरे पनि उनलाई बेन्चमा राखिनेछ। रियल म्याड्रिडले पुनः खरिद गर्ने चर्चा चलेका पाजको रचनात्मक खेल म्याक एलिस्टरको विकल्प बन्न सक्छ।
समूह ‘जे’ मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँगै रहेको अर्जेन्टिना समूह विजेता बनेमा अन्तिम ३२ मा स्पेन वा उरुग्वेसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ। त्यसपछि अगाडि बढेमा क्वार्टरफाइनलमा पोर्चुगलसँग भिडन्त हुन सक्छ।
प्रकाशित: २ असार २०८३ १६:०६ मंगलबार



