सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा जारी 'एन्फा महिला च्याम्पियनसीप ०८२'को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपिएफ आम्ने-साम्ने हुने भएका छन्। बिहीबार भएको अन्तिम सेमिफाइनलमा संकटा क्लवलाई ३-० को गोलले पराजित गर्दै एफीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
एपीएफका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले गोल गरेका थिए। खेल सुरु भएको १० मिनेटमा एपीएफका लागि घिसिङले पहिलो गोल गर्दै टिमलाई अघि बढाएकी थिईन्। लगत्तै १३ मिनटमा केसीको प्रहार गोलमा परिणत भयो।
मध्यान्तरअघि २ गोल गरेको एपिएफविरुद्ध खेल अबधिभर संकटाले गोल गर्न सकेन। बरु मध्यान्तरपछिको ४२ मिनेटमा एपीएफकै गीता रानाले तेस्रो गोल गरेर टिमलाई ३ गोल पुर्याईन् । विदेशी खेलाडीसहितको टिम लिएर मैदान छिरेको संकटाले मध्यान्तरपछिको खेलमा केहीबेर एपिएफलाई दबावमा राखेको लेखिन्थ्यो । तर, आपसी तालमेल नहुँदा गोल गर्ने पटक पटकको अवसर गुमाउन बाध्य हुँदा संकटा गोलरहित बन्न पुगेको हो ।
एपीएफकै मनमाया दमाई प्लेयर अफ द म्याच घोषित भइन् । उनले ७ हजार ५ सय नगद र ट्रफी पाईन् ।
प्रतियोगिताको फाइनल खेल आगामी ९ गते शनिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा आर्मीले १-० गोल अन्तरले नेपाल पुलिसलाई पराजित गरेको थियो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना एन्फा उदयपुरको सहआयोजनामा सञ्चालन भएको हो । प्रतियोगिता विजेता टिमले उपाधिसहित ७ लाख ५० हजार र उपविजेतालाई ५ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरि ३ विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रति खेलाडी ५० हजारका दरले पुरस्कार दिइने आयोजक एन्फाले जनाएको छ ।
प्रकाशित: ७ फाल्गुन २०८२ १९:३७ बिहीबार