नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार जारी दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ससामु जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रनको सम्मानजनक योगफल तयार पारेको हो।
काठमाडौंको सुरुआत निकै खराब रह्यो। विराटनगरका तीव्र गतिका बलर मर्चेन्ट डी लांगेको घातक बलिङसामु काठमाडौंका शीर्ष क्रमका ब्याटरहरू निरीह देखिए। टोलीले २९ रन जोड्दा आफ्ना ४ मुख्य ब्याटरहरू गुमाइसकेको थियो।
ओपनर आकाश त्रिपाठी (०) पहिलो ओभरमै आउट भए भने, रिकार्डो भास्कोन्सेलस (३) र प्रतिक श्रेष्ठ (२) ले पनि दोहोरो अंक छुन सकेनन्।
अनुभवी खेलाडी गेरहार्ड इरास्मस पनि १० रन बनाएर पेभिलियन फर्किएपछि काठमाडौं ठूलो संकटमा परेको थियो।
आदिल र सन्तोषको उत्कृष्ट पुनरागमन
प्रारम्भिक झट्कापछि विकेटकिपर ब्याटर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन बनाउँदै पारी सम्हाल्ने प्रयास गरे। तर, काठमाडौंलाई सम्मानजनक स्कोरमा पुर्याउने श्रेय मोहम्मद आदिल आलमलाई जान्छ।
आदिलले तल्लो क्रममा आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। उनले मात्र २५ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले अविजित ४८ रन बनाए।
उनलाई सन्तोष यादवले २४ बलमा २६ रन बनाएर राम्रो साथ दिए। सन्तोष र आदिलको साझेदारीले नै काठमाडौंलाई १०० रनको आँकडा पार गराएको थियो। जोन सिम्पसन ७ रनमा अविजित रहे।
विराटनगर किङ्सका लागि मर्चेन्ट डी लांगेले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिएर १ विकेट हात पारे। त्यस्तै, सूर्य तामाङ र शुभम रन्जनेले पनि १-१ विकेट लिए।
अब केही बेरमा विराटनगर किङ्सले १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: ६ मंसिर २०८२ १७:१४ शनिबार



