मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र बनायो।
नेपालको लागि इशान पाण्डेले ९० रन बनाए। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे।
बलिङतर्फ हङकङका अइजज खानले चार विकेट हात पारे। यस्तै, यसिम मुर्ताजाले दुई विकेट लिँदा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।
त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।
हङकङका लागि बाबर हयातले शतकीय पारी खेले। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए।
यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए।
हङकङसँग पराजित भए पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको थियो। नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई हराएको थियो।
यससँगै, समूह बिजेता बनेको नेपालले सेमिफाइनलमा ओमनको सामना गर्नेछ। हङकङले भने यूएईसँग खेल्नेछ। सेमिफाइनल खेल बिहीबार हुनेछ।
प्रकाशित: २३ भाद्र २०८३ १६:०६ मंगलबार



