पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ सुरु भएको हो। प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे।
चैत ७ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा व्यक्तिगत पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ५ देशका ६२ जना पाइलट सहभागी रहेको कार्यक्रम संयोजक सुनीलबहादुर भट्टराईले जानकारी दिए। उनका अनुसार ५२ पुरुष र १० महिला पाइलट प्रतिस्पर्धामा छन्। प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका पाइलटहरू सहभागी छन्।
यसअघि ७ देशका १०० खेलाडी सहभागी हुने भनिए पनि मध्यपूर्वी तनावका कारण सहभागी संख्या घटेको आयोजकले जनाएको छ। करिब ८० जनाले नाम दर्ता गराए पनि पछि केहीले नाम फिर्ता लिएका थिए, विशेषगरी युरोपका पाइलटहरूले।
प्रतियोगिताका लागि पाइलटहरूले सराङकोटबाट टेकअफ (उडान) गरी खपौंदीमा ल्यान्डिङ (अवतरण) गर्नुपर्नेछ। यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडानमा असर पर्ने भन्दै प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा र ल्यान्डिङ पामे सारिएको थियो। तर अन्तर्राष्ट्रिय उडान नियमित नभएको र सुरक्षाका हिसाबले समस्या नदेखिएपछि पुनः सराङकोटबाटै उडान र खपौंदीमा अवतरण गर्ने व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष अनिल केसीले बताए।
एक्युरेसी विधामा प्रतिस्पर्धा हुने भएकाले पाइलटहरूले अवतरण तोकिएको क्षेत्रभित्रै गर्नुपर्नेछ। त्यसका लागि विशेष लक्ष्य क्षेत्र निर्धारण गरिएको छ। पहिलो दिन खेलाडीहरूले दुई पटक उडान भरेका छन्। कुल ६ पटकको उडानबाट प्राप्त अंकका आधारमा विजेता छनोट गरिनेछ। दोस्रो दिन शुक्रबार दुई र अन्तिम दिन शनिबार दुई उडान हुने संयोजक भट्टराईले बताए।

प्रतियोगितालाई सुरक्षित बनाउन सराङकोट (उडान क्षेत्र) र खपौंदी (अवतरण क्षेत्र) मा सुरक्षाकर्मीसहित उद्धार (रेस्क्यु) टोली परिचालन गरिएको छ। साथै सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै दुवै क्षेत्रमा चिकित्सकसहित मेडिकल टिम, एम्बुलेन्स र फेवाताल क्षेत्रमा मोटरबोटसमेत तयारी अवस्थामा राखिएको सुरक्षा निर्देशक योगेश भट्टराईले जानकारी दिए।
उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरी नियमित आयोजना गर्न सुझाव दिँदै महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले साहसिक खेलको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार यसले साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला तर्फ प्रथमलाई ७५ हजार, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै समूहगततर्फ पनि सोही अनुसार पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १६:०८ बिहीबार



