गत वर्षको भदौ २४ गत जेनजी आन्दोलनका क्रममा सिंहदरबार, अदालत, संसद् भवन, प्रहरी कार्यालयदेखि निजी घर, व्यापारिक प्रतिष्ठानसम्म जलाइए।
सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्ति र ऐतिहासिक दस्ताबेजमा आगो लगाउनेहरू कहिले जेल पुग्छन् ठेगान छैन तर त्यसै दिन विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्।
देशैभरका जेलबाट भदौ २४ गते १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। तीमध्ये धेरैजसो आफैं फर्किएर जेलमा आए तर हत्या, बलात्कार, लागुऔषध कारोबार, सुन तस्करी जस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका ३७ सय ४२ जना कैदीबन्दी अहिले पनि फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष कारबाही चलाइरहेको छ।
जबर्जस्ती करणीको अभियोगमा दोषी ठहर भएका सिन्धुपाल्चोकका २६ वर्षीया आर्यान पुरीलाई अदालले १८ वर्ष कैद सजाय तोकेको थियो। सजाय भुक्तानका लागि ललितपुरस्थित नक्खु कारागारमा चलान गरिएको पाँच महिना नपुग्दै उनी भदौ २४ गते जेलबाट भागे। १७ वर्षभन्दा बढी सजाय भुक्तान गर्न बाँकी रहेका पुरीको खोजीका लागि प्रहरीले उनका आफन्त र चिनजानमाथि पनि निगरानी बढाइरहेको छ। उनी फरार भएको १३ महिनापछि काभ्रेको मण्डनदेउपुरमा बसेको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुग्यो। त्यही सूचनाका आधारमा असोज ६ गते प्रहरीले उनलाई पक्राउ गर्यो।
जबर्जस्ती करणीकै अभियोगमा अदालतले दोषी ठहर गरी २५ वर्ष कैद सजाय तोकेका ललितपुर गोदावरीका पुरुषोतम पहारी पनि भदौ २४ मा जेलबाट भागे।
कारागार व्यवस्था विभागले उपलब्ध गराएको सूचीमा उनी तत्काल पक्राउ गर्नुपर्नेमध्येका एक कैदी हुन्। सिआइबीले सबै सुराकी प्रयोग गरेर पहारीलाई गत भदौमा पक्राउ गर्यो। उनले १७ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ।
त्यस्तै हत्याको अभियोगमा दोषी ठहर भएका राजकुमार श्रेष्ठ पनि कैद सजाय भुक्तान गर्न चार वर्ष बाँकी हुँदा जेनजी आन्दोलनमा जेलबाट भागे। भागेको एक वर्षमै उनी पक्राउ परे। अहिले उनी कारागारमा छन्।
जबर्जस्ती हाडनाता करणीको मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका हर्कबहादुर गुरुङ ११ वर्ष सजाय भुक्तान गर्न बाँकी हुँदा जेनजी आन्दोलनको मौका छोपेर जेलबाट भागे। उनी पनि भागेर एक वर्षभन्दा बढी लुक्न सकेनन्, पक्राउ परिहाले।
हत्या आरोपमा जिल्ला अदालत कास्कीले २०८१ साल पुस २५ गते आजीवन कैद सजाय तोकेका उमेश राई पनि भदौ २४ को मौका छोपेर कारागारबाट भागे। कारागार व्यवस्था विभागले राईको नाम र फोटोसहितको विवरण देशैभरिका सरोकारवाला कार्यालयमा पठायो। अध्यागमन कार्यालयमा पनि उनको विवरण पठाइयो। ३३ वर्षका राई कतै छिप्न सकेनन्।
भदौ २४ गते कस्ता अपराधमा सजाय तोकिएका कैदी भागेका थिए भन्ने यी केही उदाहरण हुन्। जेलबाट भागेका धेरैजसो फर्केर आए, केहीलाई प्रहरीले पक्राउ गर्यो तर अझै पनि फरार ३७ सयभन्दा बढी कैदीबन्दी फरार छन्। तीमध्ये धेरैजसो जघन्य अपराधमा सजाय तोकिएका हुन्। हङकङबाट ब्रेक सुमा ३७ क्विन्टल तस्करीको सुन ल्याएको अभियोगमा केन्द्रीय कारगारमा पुर्पक्ष थुनामा रहेका दाबा छिरिङसहित १० जना पनि त्यतिबेलै फरार भए। १० जनामा चिनियाँ मूलका बेल्जियम नागरिक पनि छन्। उनीहरू नेपालमै छन् कि सीमापारि पुगे भन्ने केही खुलेको छैन।
त्यतिबेला कारागारबाट भागेका १०० विदेशी पनि फरार छन्। विदेशीमा लागुऔषध तस्करदेखि सार्पसुटरसम्म छन्। उनीहरू फरार भएकाले फेरि अपराध हुन सक्ने जोखिम बढेको प्रहरी अधिकारी बताउँछन्।
कारागारबाट भागेर फेरि अपराध
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ। हत्या अभियोगमा अदालतले २५ वर्ष कैद सजाय तोकेपछि जिल्ला कारगार दाङमा सजाय भोगिरहेका खिबहादुर विक पनि भदौ २४ गते फरार भए। कारागारबाट भागेको एक महिना पनि नपुग्दै अर्थात् असोज ११ गते उनले तुलसीपुरकै एक जनामाथि धारिलो हतियार प्रहार गरे। लागुऔषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ २४ मा भागे। भागेपछि उनले पहिलाको भन्दा ठुलो अपराध गरे।
उनले भागेको करिब तीन सातामै अर्थात् असोज १३ गते काठमाडौंको ठमेलमा खुकुरी प्रहार गरी मकवानपुरका सुरज तामाङको हत्या गरे। अहिले उनी लागुऔषध र हत्या मुद्दामा सजाय भोगिरहेका छन्।
कारागारबाट फरार भएका काभ्रे पनौतीका सन्तबहादुर तामाङले पनौतीस्थित घरमै पुगेर पत्नीको हत्या गरे। उनी बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका बेला नख्खु कारागारबाट भागेका थिए। सिआइबीले एक वर्षमा कारागारबाट भागेका ३७ जना कैदीलाई पक्राउ गरेको छ। तीमध्ये अधिकांश जघन्य अपराधमा संलग्न छन्।
सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराका अनुसार भदौ २४ गते कारागारबाट फरार कैदीबन्दीको खोजीका लागि विषेश कारबाही चलिरहेको छ। प्रहरीले गम्भीर अपराध र पटकपटक अपराधमा संलग्नहरूलाई पहिलो प्राथमिकतामा राखेर खोजिरहेको छ। ‘फरार कैदीबन्दी पक्राउ गर्ने प्रहरीलाई कार्यसम्पादन मूल्याँकनमा राम्रो अंक दिने भनेका छौं। फरार कैदीबन्दीको खोजी हाम्रो प्राथमिकता हो,’ एसएसपी जबराले भने।
कारागार व्यवस्था विभागले फरार कैदीबन्दीको विवरणसहितको सूची प्रहरीदेखि विभिन्न कार्यालयमा पठाएको छ। अघिल्लो वर्षको असोज मसान्तसम्म आफैं फर्किने कैदीबन्दीहरूलाई कुनै सजाय नहुने सुविधा दिइएको थियो तर अहिलेसम्म फर्के नआउनेका लागि थप सजाय सिफारिस गर्न सकिने विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए।
जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा कैदीबन्दी भागेपछि त्यसभन्दाअघि प्रहरी रिपोर्ट नमाग्ने देशहरूले अहिले माग्न थालेका छन्। सामान्य घुम्न जाँदा पनि धेरै देशमा प्रहरी रिपोर्ट चाहिन्छ। कारागारबाट भाग्न खोज्ने क्रममा १० जनाको मृत्यु भएको थियो।
प्रकाशित: १७ आश्विन २०८३ ०६:३५ शनिबार



