सुर्खेतको लेकवेशी नगरपालिका–७ लमनाको खेल मैदान छेउको जंगलमा राउटे समुदायको बस्ती छ। नजिकै मदन भण्डारी राजमार्गको फराकिलो सडकमा दैनिक सयौंको संख्यामा सवारी साधनहरू ओहोर–दोहोर गर्छन्।
यतिबेला गाउँघर माघको जाँडोमा चुनावी माहोलले गर्माएका छन्। राउटे बस्ती छेउको यहीँ सडकमा पार्टीका झण्डा लगाएका गाडीहरूको दैनिक ओहोर–दोहोर हुन्छ। तर, ति झण्डावाला गाडी र झण्डा बोक्नेहरू राउटे बस्तीमा भने पुग्दैनन्।
राउटे नेपालको एक मात्रै लोपोन्मुख समुदाय हो। एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने र खेतीपानी नगर्ने मान्यता बोकेको यो समुदायसम्म दलका उम्मेदवार नपुग्नुको एउटै कारण हो, उनीहरूसँग मताधिकार नहुनु। राउटे समुदायले अहिलेसम्म नागरिकाता प्राप्त गरेको छैन। सरकारले दैलेखको गुराँस गाउँपालिकाले वडा नं. ८ ठेगाना राखेर २०७५ सालमा अस्थायी परिचयपत्र दिएको छ। राउटेले सामाजिक सुरक्षा भत्ता पनि यहीँ परिचयपत्रको आधारमा पाउँछन्।
‘नागरिकता छैन भन्ने थाहा पाएर होला हामीलाई भेट्न नेताहरू आउँदैनन्,’ मुखिया प्रकाश शाहीले भने, ‘नागरिकता भइदिएको भए त हामीसँग पनि भोट माग्न आउँदा हुन्।’ लोपोन्मुख राउटे समुदायको हालको जनसंख्या १३४ छ। मताधिकार प्रयोग गर्न उमेर पुगेकाको संख्या यहाँ ७३ छ।
बस्ती नजिकैको लमना चोकमा प्रायः सबै राजनीतिक दलहरूले पहिलो चरणको चुनावी अभियान पूरा गरिसकेका छन्। दैनिक गाउँबस्तीमा कुनै न कुनै दलको कार्यक्रम भइराख्छ। न अहिले चुनावी मैदानमा रहेकाहरू राउटे बस्तीमा आउँछन्, न राउटे उम्मेदवार खोज्दै गाउँ पस्छन्। राउटे समुदायका लागि को मुख्यमन्त्री बन्यो, को प्रधानमन्त्री भन्यो भन्ने मुख्य चासोको विषय हुन्छ। अरु विषयप्रति उनीहरूको चासो छैन। ‘हामी जंगलका राजा, प्रधानमन्त्री दुनियाँको राजा हुन्छ,’ उनले भने, ‘दुई राजा (मुखिया र मुख्यमन्त्री–प्रधानमन्त्री)बीच कुराकानी गर्नुपर्ने भएकाले हामीलाई चासो हुन्छ।’
हुन पनि अहिलेसम्म भएका प्रधानमन्त्री र हालका नागरिक सरकारका प्रधानमन्त्रीको नाम बस्तीका तीन जनै मुखियालाई कण्ठ छ। २०७५ सालमा दैलेखको गुराँसबाट अस्थायी परिचयपत्र लिएका उनी अहिले नागरिकता बनाउन तयार छन्। नागरिकता प्राप्तिपछि आफूहरू पनि भोट हाल्न पाउने आशामा एकथरी राउटे छन्। संगसँगै नागरिकता प्राप्तिपछि एकै ठाउँमा घर बनाएर, खेतीपाती गरेर बस्नुपर्ने हो कि भन्ने डर पनि केही राउटेमा देखिन्छ।
‘नयाँ पुस्ता नागरिकता लिनुपर्ने पक्षमा छ, पुरानो पुस्ता त्यो चाहँदैन,’ नयाँ पुस्ताका प्रतिनिधि मुखिया प्रकाशले भने, ‘अहिले सबैले नागरिकता नलिए पनि ३०–३५ जना हामी लिने पक्षमा छौं।’
अर्का मुखिया दीलबहादुर शाही नागरिकता लिन नहुने पक्षमा छन्। ‘हामी एकै ठाउँमा बस्दैनौं, कागज (नागरिकता) बोकेर कहाँ हिँड्नु?’ उनले प्रश्न गरे, ‘पूर्खाहरूले नगरेको काम हामीहरूले गर्नुहुँदैन।’
प्रकाशित: २६ माघ २०८२ १६:३८ सोमबार



