माइतीघर मण्डलामा न्यायका लागि धर्ना बस्दा कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका छन्।
हिंसापीडित महिलाका लागि न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसेपनि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले साेमबार राष्ट्रिय महिला आयोगमा पुगेर नाराबाजी गरेका छन्। 'महिला अधिकार सुनिश्चित गर्', 'महिला हिंसा अन्त्य गर्', 'महिला आयोग किन चुप् ?', 'इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ', 'छोरी चेलीको रक्षा गर्' नाराका साथ पीडित पक्षले आयोग परिसरमा नाराबाजी गरेका हुन्।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्।
पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको सचिव नवराज रोकाले जानकारी दिए। उनले पीडितले जति सक्दो चाँडो न्याय पाउनुपर्ने र पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्ने माग गरे।
प्रकाशित: ९ चैत्र २०८२ १५:३६ सोमबार



