नेकपा एमालेका नेता तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा पक्राउ परेका छन्।
पाटन उच्च अदालतबाट बहु-विवाहसम्बन्धी मुद्धामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
एमालेका केन्द्रीय सदस्य शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको थियो।
काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले २०८१ असोज ६ गते सदर गरेको थियो।
जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका थियो। शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन्।
सो मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ।
जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐनको को दफा १० बमोजिम १ वर्ष कैद र ५ हजार जरिवाना हुने ठहर्छ।’
प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो। केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुविवाह सम्बन्धी मुद्धा ‘केही होइन’ भन्दै शेर्पाको बचाउ गरेका थिए।
प्रकाशित: १८ कार्तिक २०८२ १८:५४ मंगलबार