उदयपुरमा दुई फरक–फरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
जिल्लाको बेलका नगरपालिका–४ हरिपुर–शिसवारीस्थित भित्री सडकखण्डमा गुडिरहेको यात्रुबाहक बसबाट खसेर ९ वर्षीय बालक सफल बस्नेतको ज्यान गएको हो। दिउँसो १६:४० बजे भएको उक्त दुर्घटनामा बेलका–४ जहडास्थित बेलका बोर्डिङ स्कुलमा अध्ययनरत बस्नेत स्कुलबाट घरतर्फ लैजाँदै गरेको को १ ख ३५१६ नम्बरको बसबाट अचानक खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। बस चालक बेलका नगरपालिका–८ सिसौलीका ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए।
यस्तै, सोही दिन बिहान उदयपुरगढी गाउँपालिका–६ कटारीचोकमा भएको अर्को दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। खोटाङ बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भुपाल राईको उपचारका क्रममा ज्यान गएको हो।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९–०५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए। उनलाई तत्काल जिल्ला अस्पताल गाईघाट ल्याइए पनि उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै फरार रहेका टिपर चालकको खोजी भइरहेको छ। दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल अस्थायी प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी चापागाईंले बताएका छन्।
प्रकाशित: ४ चैत्र २०८२ २०:२९ बुधबार



