संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूसँग छलफल भइरहेको बताएका छन्।
विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको प्रमुख कारण पर्याप्त यात्रु नपुग्नु रहेको उल्लेख गर्दै उनले यात्रु संख्या बढाउन सरकारले विभिन्न विकल्पमा काम गरिरहेको बताए।
‘अहिले धेरै एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको छु। सबैले देखाउने मुख्य चासो यात्रुको संख्या नपुगेको भन्ने हो। इच्छुक छौँ, जान तयार छौँ भन्नुभएको छ,’ उनले भने, ‘यात्रुको संख्या कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीसँग पनि छलफल गरिरहेका छौँ।’
मन्त्री पौडेलले नेपाली नागरिक वैदेशिक रोजगारीमा जाने विषय एउटा पाटो भए पनि विश्वभर रहेका बौद्ध धर्मावलम्बी तथा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने पर्यटकलाई भैरहवा विमानस्थल हुँदै ल्याउने वातावरण बनाउनुपर्ने बताए।
‘संसारभरका धेरै बौद्धमार्गी वा बुद्ध जन्मस्थल आउन चाहने पर्यटक हुनुहुन्छ। उहाँहरूलाई यहाँ नै अवतरण गराउन सकिने वातावरण बनाउनु पहिलो काम हो,’ उनले भने।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द नरहेको स्पष्ट पार्दै उनले नियमित उडान नहुनुको मुख्य कारण यात्रु संख्या पर्याप्त नहुनु रहेको एयरलाइन्स कम्पनीहरूले बताउने गरेको जानकारी दिए।
‘खासमा एयरपोर्ट बन्द भएको होइन, चालु नै छ। रेगुलर फ्लाइट नपाउनुको महत्वपूर्ण कारण प्यासेन्जरको सङ्ख्या नपुगेको भनेर एयरलाइन्सहरूले भनेका छन्,’ उनले भने।
बौद्ध मुलुकका राजदूतसँग छलफल
मन्त्री पौडेलले श्रीलंका, भियतनाम, म्यानमार र भुटानलगायत बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकका राजदूतसँग गौतम बुद्ध विमानस्थलमा नियमित उडानका लागि व्यक्तिगत रूपमा समेत छलफल अघि बढाइएको बताए।
बौद्ध तीर्थयात्रीलाई पहिलो उडानबाटै बुद्ध जन्मस्थल लुम्बिनीमा अवतरण गराउने अवधारणामा सरकारले काम गरिरहेको उनको भनाइ छ।
उनका अनुसार लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सके गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक यात्रु संख्या सुनिश्चित गर्न सहयोग पुग्नेछ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भैरहवाबाटै सुविधा
मन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन श्रम स्वीकृतिको व्यवस्था सुरु भइसकेको बताए।
पोखरा र भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल जाँचको व्यवस्था मिलाउने तयारी भइरहेको उनले जानकारी दिए। साथै, म्यानपावर कम्पनीलाई लुम्बिनी विमानस्थल आसपास केन्द्रित गराउन श्रम मन्त्रालयसँग सहकार्य भइरहेको उनले बताए।
यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै यात्रा गर्न सहज हुने सरकारको अपेक्षा छ।
लुम्बिनी विकास कोषमा नियुक्ति अन्तिम चरणमा
मन्त्री पौडेलले लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिको गृहकार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए।
लुम्बिनी विकास कोषको पदलाई परराष्ट्र मन्त्रालय तथा राजदूतसरह संवेदनशील जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले नियुक्तिमा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।
लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व र गौतम बुद्ध विमानस्थलको सञ्चालनलाई समेत जोडेर सरकारले पर्यटन प्रवद्र्धनका विभिन्न पक्षमा काम गरिरहेको उनको भनाइ छ।
प्रकाशित: २ आश्विन २०८३ १५:२९ शुक्रबार



