समाज

ठमेलमा पर्यटकलाई हैरान पार्ने दुई युवतीसहित १३ जना पक्राउ

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई हैरानी दिने र लुटपाटमा संलग्न १३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे मण्डन देउपुर नगरपालिका–५ घर भई काठमाडौं बस्ने  १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका नगरपालिकाका २२ वर्षीय गणेश नाथ, तनहुँ बन्दिपुर गाउँपालिका–३ का २४ वर्षीय विशाल थापा मगर, सिन्धुली दुधौली नगरपालिका–६का २० वर्षीय गणेश तामाङ, सर्लाही बागमती नगरपालिका–२का १९ वर्षीय सागर मगर, सुनसरी इटहरी उपमहानगरपालिका–२१ का २२ वर्षीय रमेश क्षेत्री र दोलखा गौरीशङ्कर गाउँपालिका–२ का १९ वर्षीय विशाल नेपाली छन्। 

यस्तै  रामेछाप बाम्तेभण्डरका २१ वर्षीय मिलन नेपाली, गोरखा नगरपालिका–४ का २२ वर्षीय विवश खवास, बाँके नेपालगन्ज उपमहानगरपालिका–१का २३ वर्षीय अभिषेक थापा, काभ्रे रोशी गाउँपालिका–१का २२ वर्षीय सञ्जय लामा, दाङ घोराही उपमहानगरपालिका–१४ की २० वर्षीया प्रतिमा डाँगी र सोही ठाउँकी २१ वर्षीया प्रमीला पुन मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

रातिको समयमा ठमेल पर्यटन विकास परिषद्का पदाधिकारीसहित प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा कतिपय व्यक्तिले अनुगमनकर्तामाथि नै हातपात तथा गालीगलौज गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरूमाथि प्रहरीले ‘अभद्र व्यवहार गर्न नहुने कसुर’मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ (चार) को म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित: १० मंसिर २०८२ १९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App