समाज

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

‘शनिबार अपराह्नदेखि भने  यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला’, विभागका मौसमविद् डेभिड ढकालले बताए।

भारतमा शक्तिशाली चक्रवात ‘अर्नब’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ।

उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

‘आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ’, उनले भने।

विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App