पछिल्ला ३० वर्षमा पृथ्वीको तापमान तीव्र गतिमा बढ्दै गएको पाइएको छ। अमेरिकी दैनिक वाशिङ्टन पोस्टले नासाको तथ्यांकका आधारमा सन् १८८० देखि सन् २०२५ सम्म विश्वको औसत सतही तापक्रमको अध्ययन गरेको छ।
वाशिङ्टन पोस्टले गरेको तथ्यांक विश्लेषणअनुसार सन् १९७० देखि २०१० सम्म विश्वमा तापक्रम वृद्धि दर अपेक्षाकृत स्थिर थियो। तर त्यतिबेला पनि मानवजन्य क्रियाकलापका कारण वायु मण्डलमा ठुलो मात्रामा हरितगृह ग्यास उत्सर्जन भइरहँदा प्रतिदशक करिब ०.१९ डिग्री सेल्सियस (झन्डै ०.३४ डिग्री फरेनहाइट) दरले पृथ्वी तातिरहेको थियो। त्यसपछि यो दर अकस्मात परिवर्तन भएर प्रतिदशक झन्डै ०.२७ डिग्री सेल्सियसले तापक्रम बढेको देखिएको छ। यो करिब ४२ प्रतिशतको बढोत्तरी हो।
पछिल्ला केही वर्षमा पृथ्वीका विभिन्न स्थानमा देखिएको अभूतपूर्व गर्मीको तथ्यांकसहित अन्य धेरै अध्ययनका आधारमा अनुसन्धानकर्ताहरु विश्व तापक्रम बढ्ने ढाँचामा निर्णायक परिवर्तन आएको निष्कर्षमा पुगेका छन्। पछिल्ला ११ वर्ष सबैभन्दा तातो वर्ष रहेका छन्।
बर्कले अर्थ नामक रिसर्च संस्थाले गरेको विश्लेषणअनुसार सन् १९७० यता तापमान वृद्धिको दर स्थिर थियो भनेर मान्ने हो भने पछिल्ला तीन वर्षमा देखिएको उतारचढाव प्राकृतिक कारणले घट्ने सम्भावना १०० मा १ प्रतिशत मात्र छ। ‘हामी यसअघिको जस्तो बाटोमा अघि बढिरहेका छैनौं’, बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडे भन्छन्, ‘केही न केही परिवर्तन भएको छ।’
जलवायु वैज्ञानिक तथा स्ट्राइप कम्पनीका अनुसन्धान प्रमुख जेक हाउसफादर भन्छन्, ‘अहिले आएर तापमान वृद्धिमा पहिचान गर्न सकिने तीव्रता आएको विषयमा स्वीकार्यता बढेको छ।’
एकातिर संयुक्त राज्य अमेरिका चिसो लहरको चपेटामा छ भने विश्वका अन्य भागहरू असामान्य हिसाबमा तातिरहेका छन्। उदाहरणका लागि ग्रिनल्यान्डको नुक भन्ने स्थानमा जनवरीमा औसतभन्दा २० डिग्री फरेनहाइटा बढी तापक्रम मापन गरिएको थियो। अस्ट्रेलियाका केही भागमा अभूतपूर्व गर्मीबिच तापक्रम १२० डिग्री फरेनहाइट नाघेको छ।
त्यसो त त्यो परिवर्तनको केही अनुमान पहिला नै गरिएको थियो। दशकौंसम्म हरितगृह ग्यास उत्सर्जनका कारण भएको तापमान वृद्धिको केही भाग सल्फेट एरोसोलले छोपेर राखेको थियो। यी सूक्ष्म कणहरू वायुमण्डलमा फैलिएका हुन्छन्, जसले सूर्यको किरणलाई अन्तरिक्षतर्फ परावर्तित गर्न मद्दत गर्छन्। यसले पृथ्वीको सतहमा पुग्ने तातोपनाको मात्रा घटाउँछ। यसरी हरितगृह ग्यासहरूले तापक्रम बढाइरहेको भए पनि सल्फेट एरोसोलले आंशिक रूपमा त्यसको प्रभावलाई सन्तुलनमा राखिरहेको थियो।
तर करिब दुई दशक अघिदेखि विश्वका विभिन्न देशले विशेषगरी सल्फेट एरोसोल प्रदूषण नियन्त्रण गर्न थालेका छन्। कोइला र तेलबाट वायु तथा सौर्य ऊर्जातर्फ रूपान्तरण पनि सुरु भएको छ। परिणामस्वरूप सन् २००० को मध्यदेखि विश्वव्यापी सल्फरडाइअक्साइड उत्सर्जन करिब ४० प्रतिशतले घटेको छ। चीनमा त अझै बढी अंकले यो घटेको छ।
हालैका वर्षमा जहाजहरूबाट हुने सल्फरडाइअक्साइड उत्सर्जन पनि करिब ८५ प्रतिशतले घटाउने अन्तर्राष्ट्रिय नियमले यो प्रभावकारी भएको छ। यही कारणले वास्तविक तापमान वृद्धि अझ स्पष्ट रूपमा देखिन थालेको वैज्ञानिकको तर्क छ।
वैज्ञानिकका अनुसार प्रदूषित सूक्ष्म कणहरूले मुटु र फोक्सोसम्बन्धी रोग निम्त्याउँछन् तर सूर्यका किरण परावर्तित पनि गर्छन्। विश्वस्तरमा हेर्दा यी एरोसोलहरूले उल्लेखनीय हिसाबमा शीतल प्रभाव सिर्जना गर्छन्। वैज्ञानिकहरूको अनुमानमा अहिलेसम्म करिब आधा डिग्री सेल्सियस तापमान वृद्धिलाई यी कणहरूले सन्तुलनमा राखेका छन्। त्यसो त यो प्रक्रियाले पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार कारणको आंशिक रूपमा मात्र स्पष्ट गर्छ।
केही अनुसन्धानले पछिल्ला वर्षहरूको अभूतपूर्व गर्मीलाई केबल एरोसोल र प्राकृतिक उतारचढावका रुपमा मात्र व्याख्या गर्न नसकिने देखाएका छन्। सन् २०२४ को अन्त्यमा साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सन् २०२३ को अभूतपूर्व गर्मीलाई करिब ०.२ डिग्री सेल्सियस (झन्डै १३ प्रतिशत) एरोसोल र अन्य कारणका आधारमा मात्र व्याख्या गर्न सकिँदैन। उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ताले पृथ्वीको तल्लो तहको बादलको आवरण घटेको पत्ता लगाएका छन्।
जलवायु विज्ञानको सबैभन्दा ठुलो अनिश्चिततामध्ये बादल पनि एक हो। सम्भवतः विभिन्न प्रकारका बादलले एरोसोलले जस्तै पृथ्वीलाई चिस्याउन मद्दत गरिरहेका छन् तर कति मात्रामा भन्ने प्रश्न अझै अनुत्तरित छ। ‘प्रायः सबै जलवायु मोडेलहरू यसलाई शीतल प्रभाव मान्छन् तर त्यो प्रभावको मात्रा कति हो भन्नेमा ठुलो अनिश्चितता छ’, लिड्स विश्वविद्यालयका अनुसन्धानकर्ता क्रिस स्मिथ भन्छन्।
समग्र बादलको आवरणमा आएको परिवर्तन आंशिक रूपमा एरोसोलसँग सम्बन्धित हुन सक्छ। किनभने बादल प्रायः वायुमण्डलीय कणवरिपरि बन्छ तर केही अनुसन्धानकर्ताले यसलाई तापमान वृद्धिबाट उत्पन्न प्रतिपुष्टि चक्र (फिडव्याक लुप) पनि हुन सक्ने बताएका छन्। तापक्रम बढ्दै जाँदा वायुमण्डलको तल्लो तहमा बादल बन्न झन् कठिन हुन सक्छ।
अहिलेको तापमान वृद्धिको अधिकांश भाग एरोसोल प्रदूषण घट्नुको कारण हो भने एरोसोल शून्यमा पुगेपछि यो तीव्रता रोकिनेछ र विश्व तापमान वृद्धि फेरि पहिलेको रूपमा सुस्त दरमा फर्कनेछ। बादलसम्बन्धी प्रतिपुष्टि चक्रका कारण यस्तो भएको हो भने तापमान वृद्धिको तीव्रता जारी रहने छ र त्यससँगै झन् भयावह गर्मी लहर, आँधी र खडेरी पनि बढ्ने छ। ‘यदि तापमान वृद्धिसँग सम्बन्धित सकारात्मक बादल प्रतिपुष्टि बलियो हुँदै गइरहेको हो भने त्यो अवस्थामा यो निरन्तर रहनेछ’, जलवायु वैज्ञानिक हाउसफादर भन्छन्।
केही वर्षअघिसम्म धेरै अनुसन्धानकर्ता तापमान वृद्धि तीव्र भइरहेको दाबी गर्न तयार थिएनन्। केही वैज्ञानिक तापमान वृद्धि भएको स्वीकार गर्न अझै थप तथ्यांक आवश्यक हुने ठान्छन्। ‘तापमान वृद्धिको दर बढेको छ भनेर निष्कर्ष निकाल्न अझै चाँडो हुनेछ’, लिड्स विश्वविद्यालयका स्मिथ भन्छन्। एरोसोलसम्बन्धी परिवर्तन सहज रूपमा बुझिने भए पनि उनले अझ केही वर्षको तथ्यांक हेर्न आवश्यक रहेको बताएका छन्।
तर अन्य अधिकांश वैज्ञानिकका अनुसार परिवर्तन अझ स्पष्ट बन्दै गएको छ। बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार पछिल्ला दुई दशकमा पृथ्वीले सूर्यबाट पाउने र अन्तरिक्षतर्फ उत्सर्जन गर्ने ऊर्जाबिचको अन्तर उल्लेखनीय रूपमा बढेको छ। पछिल्ला वर्षमा बढेको खतरनाक गर्मीसँगै मानव जातिले अझ तीव्र तापमान वृद्धिका लागि तयारी रहनुपर्ने उनको निष्कर्ष छ। ‘यसअघिको तापमान वृद्धिको दर अब भविष्यका लागि भरपर्दो सूचक रहेन’, उनी भन्छन्।
प्रकाशित: ३ फाल्गुन २०८२ ११:०५ आइतबार



