समाज

बाढी–पहिरोका कारण देशभर सात सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार मंगलबार बिहान १०ः०० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडकखण्ड प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ।

त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।

वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडकमा हिलो भएका कारण सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्गमा भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुङ्गासहितको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको लेदो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ।

प्रकाशित: ९ भाद्र २०८३ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App