समाज

रेडपाण्डा देखाएर पर्यटन प्रबर्द्धन गर्दै सन्दकपुर

तेस्रो रेडपाण्डा महोत्सव चैत २० देखि २३ सम्म

इलामको सन्दकपुर गाउँपालिकाले लोपोन्मुख वन्यजन्दु रेडपाण्डा देखाएर पर्यटन प्रबर्द्धन गर्ने नीति लिएको छ । यही नीति अख्तियार गर्दै सन्दकपुर गाउँपालिकाले तेस्रो रेडपाण्डा महोत्सव गर्दैछ ।  

वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धन गर्न सन्दकपुर गाउँपालिकामा चैत २० बाट २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको हो । रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।

रेडपाण्डा महोत्सव पदमार्गमा आधारित पर्यटन महोत्सव हो । तर यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा महोत्सवको आयोजना हुने महोत्सव आयोजक समितिका संयोजक सनम राईले बताए । महोत्सवको मुख्य आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको मुख्य उदेश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्नु हो ।  

सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण आयोजना भएका छन् । ४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग हो । सो पदमार्गको प्रचारप्रसारका लागि महोत्सवको दुई सस्करण आयोजना भएको थियो–आयोजक समितिका संयोजक सनम राई भने,‘ तेस्रो रेडपाण्डामहोत्सवमा हामी सन्दकपुरमा पर्यटक बढी भित्र्याउनमा केन्द्रित हुनेछ ।’

११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चराको अध्ययन गर्न पाइन्छ । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।  

पदमार्ग भित्रका पर्यटकीय गन्तव्यहरुमा बढी भन्दा बढी पर्यटकहरु पुर्याउनु मुख्य उदेश्य रहेको गुरुङ्गले बताए । सीमावर्ती क्षेत्र भारतको पश्चिम बंगाल ठुलो बजार भएकाले भारतीय पर्यटकहरुलाई आकर्षित गर्ने पर्यटनको मुख्य उदेश्य रहेको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले बताए । लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट नेपालमा पर्यटन प्रवद्र्धन भएको क्षेत्र पुर्वी पहाठमा इलामको सन्दकपुर हो । सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् ।  

विश्व रामसार सूचीमा सूचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर हुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको उपस्थितिमा महोत्सव आयोजना हुँदैछ । चार दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरुले  आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउनेछन् ।  

चिसो हावापानीसँगै, प्राकृतिक सुन्दरता र साहासिक पर्यटनको आनन्द लिनका लागि सन्दकपुर थोरै खर्चमा भ्रमण गर्न सकिने गन्तव्य हो । महोत्सव सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क लगायत संस्थाको प्रवद्र्धन हुनेछ ।  

महोत्सवको व्यवस्थापनको काम सन्दकपुर ४ को पद्भसम्भव सामुदायिक वन र पद्मसम्भव समाजले गर्नेछ ।  

महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्कपुर भित्र्याउने लक्ष्य रहेको छ । चैत २० गतेदेखि सुरु हुने महोत्सव चैत २३ गतेसम्म आयोजना हुनेछ । रेडपाण्डाको माध्यमबाट पर्यापर्यटनको प्रवद्र्धन हुँदै आएको इलामको सन्दकपुर गाउँपालिका रेडपाण्डा महोत्सवको आयोजनाले स्थानीय पर्यटन व्यवसायमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको छ ।  

सन्दकपुर गाउँपालिकाको पर्यटन पात्रोका आधारमा चैत २० गतेबाट २३ गतेसम्म प्रवद्र्धनात्मक महोत्सव हुने भएकाले यो महोत्सवलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।  

महोत्सव सफल बनाउन पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा अन्तरक्रिया गर्ने योजना पालिकाको छ।

प्रकाशित: ९ चैत्र २०८२ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App