भोटेकोसी बाढी प्रभावित क्षेत्र तथा विस्थापितहरू राखिएका आश्रयस्थलहरूमा झाडापखाला, हैजा र हेपाटाइटिसजस्ता संक्रामक रोगको महामारी फैलन सक्ने उच्च जोखिम देखिएको छ।
बाढी प्रभावित जिल्ला नुवाकोटको विदुर नगरपालिकास्थित होल्डिङ सेन्टरहरूमा वितरण गरिएको पिउने पानीमै दिसामा पाइने घातक ‘ईकोली’ जीवाणु फेला परेपछि स्वास्थ्यविज्ञहरूले तत्काल उच्च सतर्कता अपनाउन चेतावनी दिएका छन्।
दूषित पानी, अव्यवस्थित फोहोर र लामखुट्टेको वृद्धिका कारण विपद् प्रभावित बस्तीहरूमा स्वास्थ्य संकट निम्तिन सक्ने भन्दै चिकित्सकहरूले व्यक्तिगत सरसफाइ र पानी शुद्धीकरणमा विशेष ध्यान दिन आग्रह गरेका हुन्।
जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरमा प्रयोग भइरहेको खानेपानीको १५ वटा नमुना परीक्षण गर्दा ५ वटामा ईकोलीको सङ्क्रमण पुष्टि भएको हो। ट्याङ्कर र धाराको पानीमा उक्त जीवाणु भेटिएको थियो।
जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालले त्रिशूली नदीपारितर्फका ४ वटा होल्डिङ सेन्टरमध्ये एउटामा र वारितर्फका ११ वटा सेन्टरमध्ये ४ वटा पानीको मुहानमा ईकोली फेला परेको जानकारी दिए।
उनका अनुसार दूषित भेटिएका ती स्रोतहरूलाई तत्काल क्लोरिनेसन (निर्मलीकरण) गरी खानयोग्य बनाइसकिएको छ। यद्यपि, जोखिम अझै कायमै रहेकाले सबैलाई पानी शुद्धीकरण गरेर मात्र पिउन उनले आग्रह गरे।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन विपद्को सुरुवाती दिनहरूमा कीटजन्यभन्दा पानीजन्य रोगको प्रकोप तीव्र हुने बताउँछन्। बाढी प्रभावित क्षेत्रमा विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीहरू संक्रमणको पहिलो जोखिममा पर्ने उनको भनाइ छ। समयमै शव व्यवस्थापन हुन नसके त्यसले वातावरण प्रदूषित भई ठूलो हैजा वा महामारीको रूप लिन सक्ने उनले चेतावनी दिए।
राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरू नै रोग सार्ने माध्यम बन्न सक्ने जोखिम औंल्याउँदै डा. पुनले भने, ‘प्रभावित क्षेत्रमा धेरै नागरिक पुगिरहेका छन्। उद्धारकर्ताहरूले पनि अनिवार्य मास्क लगाउने, नियमित हात धुने र व्यवस्थित शौचालय प्रयोग गर्ने गर्नुपर्छ। सरसफाइमा ध्यान नदिए उहाँहरू आफैँ रोग सार्ने बाहक बन्न सक्नुहुन्छ।’
उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बाढीको पानी मिसिएको दूषित स्रोत र फोहोर खानाका कारण हैजा, झाडापखाला, टाइफाइड तथा हेपाटाइटिस ‘ए’ र ‘ई’ जस्ता प्राणघातक रोग फैलन सक्ने बताउँछन्।
खुला ठाउँमा बस्नुपर्ने बाध्यताका कारण छालाको सङ्क्रमण र लामखुट्टेजन्य रोगको जोखिमसमेत बढ्ने डा. चालिसेको भनाइ छ।
उनले बाढी प्रभावित क्षेत्रमा साबुनपानीले हात धुने, खानेकुरा ढाकेर राख्ने र पानी उमालेर वा औषधि प्रयोग गरी शुद्धीकरण गरेर मात्र पिउन सुझाव दिएका छन्।
प्रकाशित: २१ भाद्र २०८३ २०:०७ आइतबार