रुपन्देहीको रोहिणी गाउँपालिकास्थित साविक बोधवार र पर्सा क्षेत्रका बासिन्दाले जग्गा नापी भएको करिब ५८ वर्षपछि लालपुर्जा पाएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सचिवालयले यसबारे जानकारी गराएको हो।
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा शुक्रबार २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको छ।
सचिवालयले भनेको छ, ‘रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।’
प्रकाशित: २२ श्रावण २०८३ १३:४५ शुक्रबार



