समाज

प्रचण्ड गर्मीले जमिनभित्रै ‘उसिनिए’ आलु

दक्षिण कोरियाको राजधानी सिओलबाट १३० किलोमिटर उत्तरपूर्वमा पर्ने याङगु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने। तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङवोन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए। आलु उसिनिएका थिए। अत्यधिक गर्मीले जमिन नै भट्टीजस्तो बनेपछि आलु कुहिएका हुन्। ‘यो एक–दुई वटा खेतको मात्र अवस्था होइन। म यसलाई शब्दमा कसरी व्यक्त गरूँ ? निकै दुःख लागेको छ,’ उनले स्थानीय प्रसारक संस्था एसबिएससँग भने।

उनको नष्ट भएको बाली पूर्वी एसियामा यस पटकको गमीको चरम उदाहरण मात्र हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्ट २ मा दक्षिणपूर्वी सहर याङसानमा तापक्रम ४२.५ डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन सुरु भएयता सन् १९०४ पछि दक्षिण कोरियामा रेकर्ड गरिएको यो सबैभन्दा उच्च तापक्रम हो।

कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै नौ लाखभन्दा बढी पशुधन र १४ लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मीसम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले  मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै यस्तो मौसम ‘यसअघि अनुभव नगरेको’ बताएका छन्। 

‘यो चरम मौसम नयाँ सामान्य अवस्था बन्दै गएकाले राष्ट्रिय संकट व्यवस्थापन प्रणालीको आधारभूत पुनर्संरचना गर्न हामीले प्रयास गर्नुपर्छ,’ उनले भनेका छन्।

जापानमा ‘क्रूरतापूर्ण तातो’

दक्षिण कोरियाको छिमेकी मुलुक जापानमा पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यसलाई जापानमा पहिलोपटक ‘कोकुसोबी’ अर्थात् ‘क्रूरतापूर्ण तातो दिन’ भनिएको छ। ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई जनाउन जापानको मौसम निकायले यसै वर्ष यस्तो नयाँ परिभाषा गरेको हो।

टोकियोको एउटा चिडियाखानामा तीनवटा सिंहको ‘हिटस्ट्रोक’ बाट मृत्यु भएको आशंका गरिएको छ। वैज्ञानिकका अनुसार यो चरम अवस्था कुनै एक देशमा सीमित घटना होइन, बरु ठुलो क्षेत्रीय प्रवृत्तिको हिस्सा हो।

जापानको वेदर एट्रिब्युसन सेन्टरअन्तर्गत काम गर्ने अनुसन्धानकर्ताले जापानमा जुलाईमा भएको तीव्र गर्मी विश्वव्यापी तापक्रम वृद्धिकै शृंखला भएको बताएका छन्। यति ठुलो स्तरको गर्मीको लहर औसतमा १० हजार वर्षमा एकपटक मात्र आउने उनीहरूको आकलन छ। जापानमा यो गर्मी एल निनो सक्रिय भएकै बेला बढेको हो। एल निनो प्राकृतिक जलवायु प्रणाली हो।

हङकङमा पनि रेकर्ड

हङकङको मौसम पर्यवेक्षण केन्द्रले हालै ३६.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। हङकङमा सन् १८८४ देखि अभिलेख राख्न थालिएयता मापन गरिएको यो सबैभन्दा उच्च तापक्रम हो। टाइफुन डल्फिनको बाहिरी वायुक्षेत्रले तातो हावा सहरतर्फ ल्याइरहेका बेला यो तापक्रम रेकर्ड गरिएको थियो।

हङकङ अब्जरभेटरीका पूर्वप्रमुख लाम चिउ यिङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रातो रङको चेतावनी जारी गर्ने सीमा स्पष्ट रूपमा धेरै उच्च राखिएको छ। रेकर्ड नै तोड्ने तापक्रमले पनि त्यसलाई सक्रिय गर्न सक्दैन भने यो पसलको झ्याल सजाउन राखिएको प्रदर्शन सामग्री जस्तो भएन र ?’ त्यसपछि हङकङको श्रम विभागले अब्जरभेटरीसँग मिलेर चेतावनी प्रणालीको पुनरवलोकन गरिरहेको जनाएको छ।

चीनदेखि उत्तर कोरियासम्म गर्मी

जुलाईमा चीनको पश्चिमी सिन्जियाङ क्षेत्रमा एउटा मौसममापन केन्द्रले ५० डिग्री सेल्सियस तापक्रम रेकर्ड गर्‍यो। देशको उत्तरपूर्वी क्षेत्रमा पनि गर्मीको लहर फैलिएको थियो।

उत्तर कोरियाले पनि राजधानी प्योङयाङमा लगातार उष्ण रात अनुभव गरेको जनाएको छ, जहाँ रातमा तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल झर्न सकेन।

पुसान नेसनल युनिभर्सिटीकी जलवायु वैज्ञानिक तथा संयुक्त राष्ट्रसंघको पछिल्लो जलवायु मूल्यांकनकी समन्वय प्रमुख लेखक जुन यी लीका अनुसार यस क्षेत्रको गर्मीको लहर वायुमण्डलीय परिसञ्चरणका विभिन्न स्वरूप र बढ्दो विश्वव्यापी तापक्रमको मिश्रणबाट प्रभावित भएको हुन सक्छ। उनका अनुसार तिब्बती पठार र पश्चिमी प्रशान्त क्षेत्रमा उच्च वायुचापको क्षेत्र बलियो हुनु तथा एल निनोले गर्मीका लागि अनुकूल अवस्था सिर्जना गर्न सघाएको हुन सक्छ।

विश्व मौसम संगठनको पछिल्लो ‘स्टेट अफ द क्लाइमेट इन एसिया’ प्रतिवेदनमा सन् १९९१ देखि २०२५ सम्म एसियामा तापक्रम बढ्ने गति अघिल्ला तीन दशकको तुलनामा करिब दोब्बर रहेको जनाएको छ।

किसानको मेहनत नष्ट

दक्षिण कोरियाको राजधानी सिओलबाट करिब २५७ किलोमिटर दक्षिणमा पर्ने ग्वाङजुका तरबुजा किसान हङ क्युङ हीले उच्च मूल्यमा बिक्री हुने फलफूल कुहिएर लतपत भएको बताए। ‘भित्र राम्रो थियो, मिठास पनि राम्रो थियो, सबै कुरा ठिक थियो,’ उनले खेतबाट प्रसारक संस्था केबिएसलाई भने, ‘मेरो ५० वर्षको खेती जीवनमा यस्तो पहिलो पटक भयो।’

दक्षिण जिओला प्रान्तको दम्याङ काउन्टीकी स्ट्रबेरी किसान युन उ हाले तीन महिना लगाएर हुर्काएका बिरुवाहरू गुमाइन्। ती बिरुवामा भएको क्षति बिमाले समेत समेट्दैन।

दक्षिण कोरियाको बाली बिमा योजनाले तोकिएका बाली, खेतीका विधि र क्षेत्रलाई मात्र समेट्छ। बिमाको यो सीमाभन्दा बाहिरको क्षति हुँदा किसान असुरक्षित रहन्छन्। ‘जब बिमाले यस्तो क्षति समेट्दैन, यसको भार सिधै किसान परिवारको ऋणमा थपिन्छ,’ कोरियाली किसान लिग ग्वाङजु शाखाका प्रमुख ली जुन क्युङले भने।

लीका अनुसार जलवायु तात्दै जाँदा गर्मीको लहर तीव्र हुने छ। उनका अनुसार पहिल्यै भइरहेको जलवायु परिवर्तनसँग जुध्न सुनियोजित अनुकूलनका उपायहरू अपनाउनुका साथै थप विश्वव्यापी तापक्रम वृद्धि सीमित गर्न हरितगृह ग्यास उत्सर्जनमा तीव्र गतिमा ठुलो स्तरको कटौती गर्न जरुरी छ।

 (गार्जियनबाट साभार )

प्रकाशित: २९ श्रावण २०८३ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App