काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित एक होमस्टेबाट प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले पाँच लाख ७८ हजार ५५५ रुपैयाँ नगद र १६ वटा कौडा पनि बरामद गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान करिब ५ बजे कुमार लामाले सञ्चालन गरेको कुशुम छ्याम्बा हाउस एन्ड होमस्टेमा जुवा खेलिरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।
पक्राउ पर्नेमा गागलफेदीका छिरिङ लामा, स्याङतान तामाङ, राम तामाङ, रमेश लामा, सुजित लामा, साजन तामाङ, गोपाल लामा, विमल तामाङ, पासाङ तामाङ, रबिन लामा, अनिष लामा, बिर्तामान लामा, युनिक तामाङ, जय सिंह लामा, निश्चल तामाङ, सन्चमान लामा, महेश तामाङ र बिजय लामा छन्।
त्यस्तै कुमार लामा, सुरेश लामा, सौरव मोक्तान, सागर लामा, सुरेन्द्र लामा, विबेक लामा, दुर्गा लामा, ज्ञान बहादुर लामा, सुकदेव लामा, राम कृष्ण तामाङ र कुमार तामाङ पनि पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेमा भक्तपुरका दिनेश तामाङ, नवलपरासीका होमबहादुर महतो, काठमाडौंका सुर्य तामाङ, अमर बहादुर घलान, राम लामा, आइमान घलान र काभ्रेका बिर बहादुर लामा छन्।
प्रहरीले पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ २०:२८ शुक्रबार
-600x400.jpg)


