समाज

मृग बचाउने क्रममा रौतहटमा पेट्रोल ट्याङ्कर पल्टियो, आगलागीपछि पूर्ण रूपमा नष्ट (अपडेट)

रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई ट्याङ्कर पूर्ण रूपमा नष्ट भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना गरी १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भएको छैन। दुर्घटनापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २१ श्रावण २०८३ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App