समाज

दसैँ-तिहार लक्षित गर्दै खोटाङका दुई ठाउँमा यात्रु सहायता कक्ष

नजिकिँदै गरेको दसैँ-तिहारजस्ता चाडबाडलाई लक्षित गर्दै खोटाङ ट्राफिकले दुई ठाउँमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहारको समयमा यात्रुमाथि हुने अवैधानिक कार्य रोक्ने उद्देश्यले सहायता कक्ष स्थापना गरेको हो।

चाडबाड नजिकिएका बेला सवारी साधनले यात्रुमाथि बढी भाडा लिने, दुर्व्यवहार गर्ने तथा अन्य कारणले दुःख दिने सम्भावित खतराबाट बचाउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयले जनाएको छ। खासगरी यात्रुसँग अवैध भाडा असुली नियन्त्रण गर्दै सवारी यात्रा व्यवस्थापन गर्न सदरमुकाम दिक्तेल बजार र खोटाङ छिर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरिएको छ।

दिक्तेल बजारको रत्नपार्क र जयरामघाट उदयपुर, ओखलढुंगा र खोटाङको सीमानास्थल भएकाले दुई ठाउँमा एकै चोटि यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक (असई) ज्ञानेन्द्र कार्कीले बताए। उनका अनुसार चाडपर्वको मौका छोपेर गाडीमा आउजाउ गर्ने यात्रुमाथि अभद्र व्यवहार हुने, अनावश्यक दुःख दिने, बढी भाडा असुल्ने, सोझै पुग्ने ठाउँमा पनि घुमाएर गाडी फेरेर जान बाध्य बनाउनेजस्ता कार्य हुने गरेकोप्रति सचेत गराउन सहायता कक्ष खोलिएको हो।

सहायता कक्षमा खट्ने सुरक्षाकर्मीले यात्रुको सुरक्षा, सहज आउजाउ र व्यवस्थित यात्रा गराउन मद्दत गर्ने उनले बताए। दसैँ-तिहार नजिकिएका कारण विभिन्न पेसा, व्यवसाय र नोकरी गर्ने क्रममा काठमाडौं उपत्यकालगायत जिल्लाबाहिर रहेका स्थानीय घर फर्कने क्रम सुरु भइसकेको छ। चाडपर्वको समयमा गाडीको टिकट नपाइने, पाउँदा पनि सिट नपाउने तथा तोकिएकोभन्दा बढी भाडा असुल्नेजस्ता काम हुँदै आएकाले सहायता कक्ष स्थापना गरेर त्यसलाई व्यवस्थित गर्न खोजिएको हो।

चाडबाडमा यात्रुको भिडभाडले गर्दा सामान हराउने, पैसा चोरी हुने, झोला नै गायब हुनेजस्ता चोरीचकारीका घटना पनि हुने गरेका छन्। त्यस्ता सबै कुरामा सचेत हुन सहायता कक्षबाट यात्रुलाई आवश्यक परामर्श दिने तथा हराएका, छुटेका सामग्री सुरक्षित गरेर हात लगाइदिने काम पनि सहायता कक्षले गर्नेछ। साथै आफूलाई परेको समस्या खुला रूपमा सहायता कक्षमा आएर सुनाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।

ट्राफिकले यात्रुवाहक सवारी साधनलाई क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएभन्दा बढी भाडा नलिन, ट्राफिक नियम पालना गरेर गाडी चलाउन, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन र यात्रुको अपमान नगर्न, उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन पनि आग्रह गरेको छ। यात्रुलाई यातायात व्यवसायीले अनिवार्य टिकट दिन तथा यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ।

शनिबार बिहान सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले चाडपर्वका बेला यातायात क्षेत्रमा हुने कमीकमजोरी हुन नदिन सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए। उनले यात्रुले चाडबाडको बेला सहज तरिकाले सुरक्षित यात्रा गर्दै घर फर्कन पाउन् भन्ने उद्देश्यले यो काम गरिएको बताए।

तोकिएकोभन्दा बढी भाडा नलिन तथा नतिर्न आग्रह गर्दै डिएसपी बुढाथोकीले कसैले ठगिएको महसुस गरे तत्काल नजिकको प्रहरी वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरे। यात्रुको सहज आउजाउका लागि ट्राफिक प्रहरी सहायता कक्ष र सडकमा खटिरहने बताउँदै उनले सुरक्षित गन्तव्यका लागि सधैँ प्रहरी, यात्रु र यातायात व्यवसायीको साथमा रहने बताए।

प्रकाशित: १७ आश्विन २०८३ १८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App