झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडक खण्डमा अटो र ट्याक्टर एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवी रहेकी छन्। प्रहरीका अनुसार बाह्रकोटीगाउँमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किएको हो।
दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार पाँच जना गम्भीर घाइते भएका थिए। घाइते सबैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारका क्रममा सुखि बिवीको दिउँसो १:३० बजे मृत्यु भएको हो।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ श्रावण २०८३ १५:५३ आइतबार



