भोजमा मासु खानेक्रममा हड्डी अड्कँदा जिल्लाको तारकेश्वर गाउँपालिका-५ गोस्र्याङमा एक महिलाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले ४१ वर्षीया गङ्गामाया तामाङको घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा आज त्रिशूली अस्पतालमा निधन भएको जानकारी दिए।
उनका अनुसार ल्होसार पर्व मनाउन आफन्तको घरमा पाहुना गएकी तामाङले शनिबार भोजमा खानासँगै कुखुराको मासुसँग खाने क्रममा घाटीमा हड्डी अड्किएको थियो।
घटनालगत्तै उपचारका लागि अस्पताल पुर्याएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामाले बताए।
हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएकी तामाङ ल्होसार पर्व मनाउनको लागि यही शुक्रबार मात्रै तारकेश्वर–५ गोस्र्याङस्थित दिदीको घरमा आएकी थिइन्।
प्रकाशित: २६ माघ २०८२ २१:४३ सोमबार



