प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने सरकारको नीतिको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन भङ्ग भएको छ।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची स्वीकृत गरेको थियो। उक्त कार्यसूचीको खण्ड (ख) को बुँदा नम्बर १२ मा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्था उल्लेख छ।
सोही सरकारी निर्णयलाई समर्थन र स्वागत गर्दै युनियनले आफूलाई विघटन गरेको हो।
युनियनका अध्यक्ष राजु ओलियाले आइतबार एक सूचना जारी गर्दै युनियन भङ्ग गरिएको जानकारी दिएका छन्। जारी गरिएको सूचनामा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट स्वीकृत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन आजैका मितिबाट भङ्ग गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

प्रकाशित: १५ चैत्र २०८२ १९:२३ आइतबार



