समाज

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ।  

गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन्। ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद् वाट उक्त अवधिमा छ हजार २७२ परिवार प्रभावित भएका छन्।

यस अवधिमा सबैभन्दा बढी आगलागीका एक हजार १३६ घटना भएका छन्। यसैगरी, पहिरोका एक हजार ११, सर्पदंशका एक हजार १०, हावाहुरीका ४८०, चट्याङका २४५, बाढीका २७३ र भारी वर्षाका ३२० घटना भएका छन्।

प्राधिकरणका अनुसार भदौ ५ गते बिहान ११ः०० बजेसम्म अद्यावधिक भएको विवरणमा जनावरको आक्रमणका २७२, लेक लाग्ने ५९, हिमपहिरोका दुई, डुङ्गा पल्टिने एक, वन डढेलोका १९१, विस्फोटनको एक, असिनाका चार र भूकम्पका चार घटना भएका उल्लेख छ।

यही भदौ ४ देखि ५ गते बिहान ८ः०० बजेसम्मको विवरणअनुसार देशका विभिन्न भागमा ३३ विपद्का घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्। प्राधिकरणले त्यस अवधिमा विपद्का कारण अनुमानित रु नौ लाख ७२ हजार बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको जनाएको छ।

प्रकाशित: ६ भाद्र २०८३ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App