जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरको होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापुर्जी किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।
शनिबार साँझ प्रहरीले उनीसहित अन्य जेनजी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछारपछार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
उपचारका क्रममा सोमबार बिहान अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानुनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी प्रमुखसँग जवाफ मागेका छन्।
`मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन,´ अन्सारीले भनेका छन्, `के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो?´
उनले संघीय संसद्का सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा सम्पूर्ण मानव अधिकार रक्षकहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र यस घटनाप्रति ध्यानाकर्षण गराउन अनुरोध गरेका छन्।
प्रकाशित: २९ असार २०८३ ०९:५७ सोमबार



