नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिमकार्ड (फिजिकल वा ई–सिम) प्रतिस्थापनका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था लागू गरेको छ।
टेलिकमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि उक्त सेवा सञ्चालनमा आएको जनाएको हो। अब सेवाग्राहीले घरमै बसेर आवश्यक विवरण भरी नयाँ फिजिकल सिम वा ई–सिमका लागि आवेदन दिन सक्नेछन्।
टेलिकमका अनुसार हराएको वा बिग्रिएको सिमको सट्टा नयाँ सिम लिन चाहने ग्राहकले esim.ntc.net.np मा गई ‘Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण भर्नुपर्नेछ।
अनलाइन आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा आफ्नो प्रतिनिधिमार्फत नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट सिम लिन सक्नेछन्। नयाँ सिम प्राप्त गर्न ५० रुपैयाँ शुल्क लाग्नेछ। प्रतिनिधिमार्फत सिम लिन जाँदा प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्ने र परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै उक्त प्रक्रिया लागू गरिएको जनाएको छ।
यस पोर्टलमार्फत हराएको वा बिग्रिएको सिम प्रतिस्थापनका साथै नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नसमेत सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ।
प्रकाशित: १ श्रावण २०८३ १७:५८ शुक्रबार



