समाज

भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि सरकारले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।

गृह प्रशासनका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन्।

सडक सञ्जाल विच्छेद भएका कारण सुरक्षाकर्मीहरूले पैदल र हवाई दुवै मार्गबाट संयुक्त अपरेसन चलाइरहेका छन्।

स्थलगत पहुँच अत्यन्त कठिन भएका उच्च जोखिमयुक्त स्थानहरूबाट हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।

नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले हालसम्म ६९ पटक उडान भरेर बाढीमा फसेका ३५१ जना नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

प्रतिकूल भूगोल, भत्किएका सडक र नदीको तीव्र बहावका बाबजुद सुरक्षा निकायले खोज, उद्धार र राहत सामग्री वितरणलाई चौबीसै घण्टा निरन्तरता दिइरहेका छन्।

बाँकी जोखिमयुक्त क्षेत्रमा पनि थप जनशक्ति परिचालन गरी उद्धार कार्यलाई थप सशक्त बनाइएको छ।

प्रकाशित: ११ भाद्र २०८३ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App