समाज

साकेलामा श्रमदान अभियान संस्थागत बन्दै

खोटाङको साकेला गाउँपालिकाले सडक सरसफाइका लागि सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ थप गतिशील बन्दै गएको छ। गाउँपालिकाभित्रका भित्री सडक मर्मत तथा नयाँ ट्र्याक खोल्न जनश्रमदानलाई प्रभावकारी रूपमा उपयोग गर्दै आएको गाउँपालिकाले एकपछि अर्को सडक श्रमदानमार्फत निर्माण तथा मर्मत गर्ने कार्यलाई तीव्रता दिएको हो।

विगत छ महिनायता नीतिगत निर्णय गरेर सुरु गरिएको यस अभियानअन्तर्गत प्रायः हरेक शनिबार जनप्रतिनिधि, कर्मचारी, प्रहरी, संघ–संस्था तथा नागरिक अगुवालाई श्रमदानमा सहभागी गराइँदै आएको छ। विशेषगरी सडक सरसफाइ तथा मर्मतसम्भारमा केन्द्रित यो अभियान गाउँपालिका क्षेत्रभर निरन्तर रूपमा सञ्चालन भइरहेको छ। विकास निर्माण र सरसफाइसम्बन्धी कार्यक्रमहरूलाई श्रमदानसँग जोडेर अघि बढाइँदै आएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार कार्यपालिकाको नीतिगत निर्णयअनुसार श्रमदान अभियान सञ्चालन गरिएको हो। श्रमदानलाई विकास निर्माणको अभिन्न अंगका रूपमा लिन सके सानातिना योजनाहरू बिना बजेट सम्पन्न गर्न सकिने र ठूला आयोजनामा समेत निर्णायक सहयोग जुटाउन सकिने अनुभव प्राप्त भएको उनले बताए।

अध्यक्ष राईले हालै गाउँपालिकाको प्रमुख मार्ग साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे खण्डअन्तर्गत वडा नं. ३ को खिदिमास्थित खरुवा खोलादेखि तावाभञ्ज्याङ जोड्ने सडक सरसफाइ तथा मर्मत गरिएको जानकारी दिए। लामो समयदेखि पटक–पटक मर्मत गर्दा पनि बिग्रिँदै आएको उक्त सडक स्थानीय बासिन्दाको सक्रिय सहभागिता तथा जनप्रतिनिधि र कर्मचारीको संयुक्त श्रमदानमार्फत सुधार गरिएको हो।

श्रमदाताहरूले सडकमा थुप्रिएको माटो र ढुङ्गा हटाउनुका साथै झारपात तथा सडक दायाँ–बायाँ फैलिएका बोटबिरुवा सफा गरेपछि यातायात आवागमन सहज भएको छ।

श्रमदानमार्फत मर्मत भएपछि सडकको स्वरूप मात्र परिवर्तन नभई स्थानीयवासीमा ‘गाउँको सडक हाम्रो हो’ भन्ने अपनत्वसमेत विकास भएको अध्यक्ष राईले बताए। दुःख गरेर गरिएको मर्मतसम्भारले योजनाप्रति अपनत्व बढाउने र यसको संरक्षण तथा उपयोगमा सामूहिक जिम्मेवारीको भावना विकास हुने उनको भनाइ छ।

गाउँपालिकाले विकास निर्माणका कामलाई बजेट र योजनामा मात्र सीमित नराखी स्थानीय नागरिकको श्रम, सीप र सहभागितासँग जोडेर अघि बढाउँदा दोहोरो फाइदा भएको निष्कर्ष अध्यक्ष राईले निकालेका छन्।

‘श्रम साकेला अभियान’मार्फत साना तर दीर्घकालीन महत्व र प्रभाव पार्ने कामहरू गर्दै जाँदा श्रमदानको वास्तविक अर्थ बुझ्न सकिएको अध्यक्ष राईको भनाइ छ। उनका अनुसार सामान्य देखिने यस्ता कामले ठूला योजना सजिलै सम्पन्न गर्न, सार्वजनिक सम्पत्तिप्रति अपनत्व बढाउन तथा सामूहिक भावना विकास गर्न सहयोग पुगेको छ।

अभियानप्रति स्थानीयवासीले स्वागत गर्दै स्वतःस्फूर्त रूपमा सहभागिता जनाउँदै आएका छन्। गाउँको विकासप्रति सबैलाई जिम्मेवार बनाउने, थोरै मेहनतले दीर्घकालीन महत्वका काम सम्पन्न हुने र बजेटका लागि सरकार वा नेताको मुख ताकिरहनु नपर्ने भएकाले अभियान सफल हुँदै गएको स्थानीयवासी बताउँछन्।

खिदिमाका युवा श्रमदाता जितेन्द्र राईले श्रमदान अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने सुझाव दिए। उनका अनुसार यसले गाउँको विकास बिना लगानी सम्भव बनाउनुका साथै आपसी सहकार्य र एकताको भावना बढाउने भएकाले अभियान अत्यन्त सकारात्मक छ।

गाउँपालिकाले विकासको काम बाहिरबाट होइन, जनताबाटै सुरु हुनुपर्छ भन्ने सन्देश दिएको भन्दै आगामी दिनमा पनि श्रमदान अभियानलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ। सुरुमा सडक, खानेपानी तथा सार्वजनिक संघ–संस्थाको सरसफाइ र मर्मतसम्भारमा केन्द्रित रहेको श्रमदान पछिल्लो समय संगठित अभियानका रूपमा विस्तार गरिएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १३ पुस २०८२ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App