काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ।महानगरपालिकाले तिहारमा महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिनसमेत अनुरोध गरेको छ।
महानगरपालिकाले जारी गरेको सूचनामा प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने उल्लेख छ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित गर्न महानगर प्रहरी बलले सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न स्थान तोकेको महानगरले जनाएको छ।
तिहारमा फूल तथा मालाको माग बढ्ने भएकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, किसानको उत्पादनले बजार पाउने वातावरण निर्माण तथा प्लास्टिकजन्य फूलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले महानगरले यस्तो व्यवस्था गरेको हो।

प्रकाशित: १७ कार्तिक २०८३ १२:२५ मंगलबार



