समाज

पश्चिम नेपालमा तातो हावाको लहर, जनजीवन कष्टकर

पश्चिम नेपालमा केही दिनदेखि तातो हावाको लहर चलेको छ। अत्यधिक गर्मीसँगैको तातो हावा अर्थात् ‘लु’ चल्दा यहाँको जनजीवन कष्टकर बनेको छ।

बिहानैदेखि तातो हावा चल्न थालेपछि नेपालगन्ज, भैरहवा, धनगढी, बर्दिया, दाङ, कैलालीलगायतका तराई जिल्लामा सर्वसाधारण घरबाहिर निस्कनै मुस्किल हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो हावाको लहर चल्ने पूर्वसूचना जारी गरेको थियो। महाशाखाका अनुसार पश्चिम तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने र वर्षाको सम्भावना न्यून रहेकाले तापक्रम अझै बढ्न सक्ने देखिएको छ।

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो।

अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घट्न थालेको छ। नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन्। सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने गरेका छन्। नेपालगन्ज–१० का स्थानीय अर्जुन शर्मा भन्छन्, ‘बिहान ९–१० बजेदेखि नै घाम सहन नसक्ने हुन्छ। दिउँसो तातो हावा चल्दा सडकमा हिँड्नै गाह्रो हुन्छ।’

गर्मीका कारण वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। अस्पतालहरूमा पनि गर्मीजन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।

भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, ज्वरो, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी हुने तथा ‘हीट स्ट्रोक’ का बिरामी बढ्न थालेका छन्। शरीरमा पानीको मात्रा घट्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्ने भएकाले पर्याप्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन्।

चिकित्सकहरूका अनुसार दिउँसोको समयमा लामो समय घाममा बस्दा शरीरको तापक्रम असन्तुलित हुन सक्छ। समयमै सावधानी नअपनाए बेहोस हुने, रक्तचाप घट्ने तथा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्। 

मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेश तथा राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभाव नेपालतर्फ फैलिएकाले पश्चिम तराईमा ‘हिट वेभ’ को अवस्था बनेको हो। वर्षा नहुँदा र आकाश खुला रहँदा तापक्रम झन् बढिरहेको उनीहरूको भनाइ छ।

गर्मी बढेसँगै विद्युत् खपत पनि अत्यधिक बढेको छ। पंखा, कुलर, एसी तथा पानी तान्ने मोटरको प्रयोग बढेपछि नेपालगन्जलगायतका क्षेत्रमा विद्युत् आपूर्तिमा दबाब परेको छ। कतिपय स्थानमा पटकपटक विद्युत् जाने समस्या देखिएको स्थानीयले बताएका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार अत्यधिक गर्मीका कारण व्यापारसमेत प्रभावित भएको छ। बजारमा ग्राहकको संख्या घट्दा व्यापार कमजोर बनेको उनीहरूको भनाइ छ। नेपालगन्जका व्यवसायी सन्तोष गुप्ताले भने, ‘दिउँसो बजारमा मानिस नै देखिँदैनन्। गर्मीका कारण ग्राहक आउन छाडेका छन्।’ 

कृषि क्षेत्रमा पनि गर्मीको असर देखिन थालेको छ। लामो समयदेखि वर्षा नहुँदा खेतबारी सुक्न थालेका छन् भने तरकारी खेती प्रभावित भएको किसानहरूले बताएका छन्।

बाँके र कैलालीका किसानहरूका अनुसार अत्यधिक गर्मीले पशुचौपायामा समेत असर परेको छ। गर्मीका कारण गाईभैंसीले कम दूध दिन थालेका छन् भने कुखुरा तथा बाख्रामा समेत स्वास्थ्य समस्या देखिन थालेको कृषकहरूको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाले दिउँसो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र लामो समय घाममा नबस्न सुझाव दिएको छ।

स्वास्थ्यकर्मीहरूले बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन आग्रह गरेका छन्। विद्यालय जाने बालबालिकालाई टोपी लगाउने, पानी बोकेर हिँड्ने तथा दिउँसो लामो समय बाहिर खेल्न नदिने सुझावसमेत दिइएको छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन पश्चिम तराईमा गर्मी अझै बढ्न सक्ने सम्भावना रहेको छ। तत्काल वर्षाको सम्भावना कम रहेकाले तातो हावाको प्रभाव कायम रहने अनुमान गरिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App