काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाह प्रयास गरेका २५ वर्षीय युवक गणेश नेपालीको शुक्रबार मृत्यु भएको छ। उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान सवा ११ बजेतिर उनको मृत्यु भएको हो। मुगुको सोरु गाउँपालिका–१ का नेपालीले बिहीबार दिउँसो पौने २ बजेतिर आत्मदाहको प्रयास गरेका थिए।
पठाओ गरेर जीविका चलाउँदै आएका नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ‘ह्विल लक’ गरिदिएका थिए। त्यसपछि ती नगर प्रहरीसँग उनको विवाद भएको थियो। विवाद अलि मत्थर भएपछि नेपालीले आफ्नो मोटरसाइकल छुटाउन माफी मागेको थिए। प्रहरीले माफी दिन अस्वीकार गरेपछि उनले आत्मदाह गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पेट्रोल छर्केर आगो लगाएपछि नेपाली करिब चार मिनेट जलिरहे। कसैले पनि समयमै उनको शरीरको आगो निभाउन सकेनन्। अन्ततः अस्पताल भर्ना भएको २१ घण्टापछि शुक्रबार नेपालीको मृत्यु भएको वीर अस्पतालका बर्न प्लास्टिक विभागले जनाएको छ।
नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको थियो। स्वास्थ्य स्थिति अति चिन्ताजनक देखिएपछि चिकित्सकहरू भारत रेफर नगर्ने निर्णयमा पुगेका थिए। अस्पतालका अनुसार उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो। तेस्रो तहको जलनका कारण श्वासनलीमा गहिरो असर परेकाले उनको मृत्यु भएको अस्पतालको भनाइ छ।
लामो समय जलेका कारण शरीरको भित्री भागमा असर परेको हुँदा नेपालीलाई बचाउन नसकिएको वीर अस्पतालका बर्न प्लास्टिक सर्जन डा. अपार लामिछानेले बताए। उनी बिहीबार अस्पताल आइपुग्दा छटपटिँदै बोलिरहेका थिए। बिरामीले जलनको पीडाका कारण यस्तो गतिविधि गर्ने गरेको वीर अस्पतालका डा. लामिछानेले बताए।
घटनापछि आफन्तले नेपालीको शव बुझ्न मानेका छैनन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले सम्भव भएसम्मको उपचारबाट पनि नेपालीलाई बचाउन नसकिएको बताए। उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमा गरिने प्रहरीले जनाएको छ। मृतक गणेशका पत्नी र एक छोरी छन्। परिवारका कान्छा छोरा नेपाली र उनका दाइ मदन नेपालीलाई सिलाइ पेसाका भरमा बुवाले कक्षा १२ सम्मको प्राविधिक शिक्षा दिलाएका थिए। पाँच वर्षअघि पिताले आँखा देख्न नसकेर सिलाइ पेसा छाडेका थिए। त्यसपछि आंशिक जागिर गरेर दाजुभाइले लोकसेवा परीक्षा दिँदै आएका थिए। गणेशले जेटिएसम्मको अध्ययन पूरा गरेका थिए भने दाजु मदनले ओभरसियर तहको पढाइ पूरा गरी दुई भाइले पालैसँग लोकसेवाको परीक्षा दिइरहेका थिए। लोकसेवामा नाम ननिस्किएपछि नेपालीले विदेशमा जाने सोच राखेका थिए। न्याय नपाएसम्म नेपालीको शव नबुझ्ने मृतकका दाजु मदन नेपालीले बताएका छन्। उनका मातापिता शुक्रबार साँझ मुगुबाट काठमाडौं आउँदै छन्।
सडकदेखि सदनसम्म विरोध
नेपालीको आत्मदाहको प्रयास र मृत्युलाई लिएर सडक, सदन र सामाजिक सञ्जाल तातिएका छन्। घटना राज्यको कमजोरीका कारणले भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टी, वैज्ञानिक समाजवादी पार्टी र वीर अस्पताल परिसरमा आफन्तहरूले विरोध प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा नेपाली कांगे्रसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल जेन्जी आन्दोलनकी नेत्री रक्षा बमलगायत थुप्रै नेता तथा अभियन्ताले मृतक नेपालीको मृत्यु राज्य व्यवस्था कमजोरीका कारण भएको जिकिर गरेका छन्।
‘नगर प्रहरीले दुई झापड हानेका थिए’
प्रत्यक्षदर्शीका अनुसार सुरुमा महानगर प्रहरी मीना नगरकोटीसँग गणेश नेपालीको भनाभन भएको थियो। त्यसक्रममा उनको मोटरसाइकलमा ह्विल लक लगाइयो। लक लागिसकेपछि पनि युवाले मोटरसाइकल छोडिदिन भन्दै अनुनय विनय गरिरहे। उनले प्रहरीसँग माफीसमेत मागेका थिए। तैपनि महानगर प्रहरीले उनको बाइकको लक खोलिदिएनन्। त्यसपछि उनले साथीको बाइक भए पनि प्रयोग गर्ने उद्देश्यले पेट्रोल झिकेका थिए।
भनाभनकै क्रममा टेकुबाट घटनास्थलमा ड्युटीमा खटिएका प्रहरी हवलदारले दुई झापड हाने। प्रहरीले झापड हान्नेबित्तिकै नेपालीले शरीरमा पेट्रोल छर्केर आगो झोसेका थिए। राहदानी विभागमा पासपोर्टको कभर र फाइल बिक्री गर्ने प्रत्यक्षदर्शीहरूले यस्तो जानकारी दिएका हुन्। पेट्रोल छर्केपछि आगो लगाउँदा जल्दै गर्दा उनी कराउँदै केही बेर सडकमा हिँडे र ढले। तर घटनास्थलमा खटिएका महानगर र नेपाल प्रहरीले उनको आगो निभाउन कुनै प्रयास नगरेको दृश्यले मर्माहत बनेको उनीहरूले बताए। ‘कम्तीमा मानवता हुन्छ, त्यो पनि देखिएन, रातभरि निदाउन सकिएको छैन,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्। ‘मान्छेहरू सबै भित्र लुके, चार/पाँच मिनेटसम्म जलिरहँदा पनि महानगर प्रहरीले बचाउन केही गरेनन्,’ एक प्रत्यक्षदर्शीले भने।
स्थानीय स्टेसनरी तथा साइबरका मान्छेहरूले बोतलको पानी छर्किने, घरको पर्दा निकालेर छोप्ने र राहदानी विभागको भित्रबाट जारको पानी निकालेर नेपालीको शरीरमा खन्याएका थिए। त्यसपछि राहदानी विभागमा सेवा लिन आएका केहीले गणेशलाई ट्याक्सीमा हालेर वीर अस्पताल पु¥याएको उनीहरूले जानकारी दिए। घटनापछि स्थानीय व्यापारीहरू धेरैजसो घरबाहिर निस्केको र सत्यतथ्य बोल्न नचाहेको उनीहरूले बताए। घटनास्थलनजिक धेरै सिसिटिभी फुटेज रहेको र ती फुटेज सार्वजनिक गरे यथार्थ प्रमाण भेटिने उनीहरूको भनाइ छ। शुक्रबार राहदानी विभागले वितरणको काम मात्र गर्यो। त्यसकारण भिडभाड त्यति भएन। विभागबाहिर बाइकमै बसिरहेका पठाओ चालकहरूले पनि घटनाबारे केही बोल्न चाहेनन्। स्थानीयले पनि मिडियासँग बोल्न मानेनन्। सधैं खटिने महानगर प्रहरी पनि विभाग पुगेको देखिएन।
प्रहरीहरू नेपालीको उपचारमै केन्द्रित बनेकाले घटनाबारे यकिन विवरण प्राप्त भइनसकेको काठमाडौं जिल्ला प्रहरीका प्रवक्ता भट्टराईले बताए। अबको समय घटनासँग सम्बन्धित अनुुसन्धानमा केन्द्रित हुने उनको भनाइ छ। घटनामा संलग्न काठमाडौं महानगरका तीन प्रहरीलाई अनुसन्धानका लागि कालीमाटी प्रहरी प्रभागमा राखिएको छ। उनीहरूका नाम भने गोप्य राखिएको उनले बताए। ‘पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि कालीमाटी प्रहरीकोमा राखिएको छ,’ उनले भने। त्यसपछि घटनास्थलको सिसिटिभी फुटेज तथा अन्य प्रमाणहरूको अनुसन्धान हुने उनले जानकारी दिए।
प्रकाशित: २७ असार २०८३ ०६:५१ शनिबार



