रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मानसरोवर दर्शनका लागि हिँडेका जुम्लाका ५१ वर्षीय भानु देवकोटा सात दिनदेखि सम्पर्कविहीन भएका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका देवकोटा नेपाल-चीन सीमा क्षेत्रबाट बेपत्ता भएपछि उनको सिङ्गो परिवार यतिबेला अनिश्चितताको पीडामा डुबेको छ।
पारिवारिक स्रोतका अनुसार देवकोटा आध्यात्मिक गुरु सदगुरुको तीर्थयात्री टोलीसँगै गोसाइँकुण्ड हुँदै मानसरोवरको धार्मिक यात्रामा निस्किएका थिए।
रसुवागढी नाकाबाट हेलिकप्टरमार्फत अन्य तीर्थयात्रीहरूलाई दुई टिप गरेर मानसरोवरातर्फ पठाइसकेपछि उनी अन्तिम उडानको पखाइमा सीमा नजिकै रोकिएका थिए। तर, उनी सवार हुने हेलिकप्टरको पालो नआउँदै माथिबाट लेदो र ढुङ्गासहितको प्रलयंकारी बाढी उर्लिएर आएपछि उनी मितेरी पुल नजिकैबाट सम्पर्कविहीन भएका हुन्।
भानुकी भतिजी मिना देवकोटाका अनुसार बाढी आउनुभन्दा अघिल्लो दिनसम्म उनी परिवारको निरन्तर सम्पर्कमै थिए। ‘गत भदौ ९ गतेसम्म अन्टी बिमा रोकाया (देवकोटा) सँग अंकलको नियमित फोन कुराकानी भइरहेको थियो,’ मिनाले भनिन्, ‘तर बाढी आएको दिनदेखि फोन लाग्न छाड्यो। समय बित्दै जाँदा उहाँ सकुशल सम्पर्कमा आउनुहोला भन्ने आशा पनि अब क्षीण बन्दै गएको छ।’
तीन भाइमध्ये सबैभन्दा कान्छा भानु घरका प्रिय सदस्य थिए। कान्छो भाइ नै महाविपत्तिमा परेर हराएपछि जेठा दाजु शारदाप्रसाद र माइला भाइ हरिप्रसाद देवकोटा विक्षिप्त बनेका छन्।
भानुका दुई सन्तान छन्। छोरा आयुस उच्च शिक्षाका लागि अस्ट्रेलियामा छन् भने छोरी आयुसिका चितवनमा एमबीबीएस अध्ययनरत छिन्। बुवा बेपत्ता भएको खबरले छोराछोरीसहित परिवारका सबै सदस्य शोकमा छन्।
विगत सात दिनदेखि जेठा दाजु शारदाप्रसादका आँखा घरको मूल ढोकाबाट एकछिन पनि हटेका छैनन्। घरको आँगनमा कुनै नौलो मान्छे आइपुग्दा वा मोबाइलको घण्टी बज्दा कतैबाट हराइरहेका कान्छा भाइको खबर आइपुग्यो कि भनेर उनीहरूको मुटु जोडले धड्किन्छ।
तर, फोन उठाइसक्दा त्यो आशा निराशामा परिणत हुने गरेको छ।
बुवा बेपत्ता भएको खबरपछि परिवार र आफन्तहरू उनको खोजीमा भौंतारिरहेका छन्। उनीहरू चितवन, पोखरा हुँदै रसुवाका अस्पताल तथा शवगृहहरूसम्म पुगेर सोधखोज गरिसकेका छन्। तर, अहिलेसम्म भानुको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
बाढी गएको यति लामो समय बितिसक्दा पनि कुनै सुराक नभेटिँदा निराशा छाए पनि देवकोटा परिवारले उनी बाँच्ने झिनो आशा भने पूर्ण रूपमा मारिसकेको छैन।
‘सरकारले सबैतिर खोजी र उद्धार गरिरहेको छ, कतै घाइते भएर ओत लागेर बसेको अवस्थामा हाम्रो मान्छे भेटिन्छ कि भन्ने आश अझै मनमा छ,’ परिवारका वृद्ध सदस्यहरूले भने।
प्रकाशित: १७ भाद्र २०८३ २१:५९ बुधबार