समाज

छात्राहरूलाई यातना दिने ‘फेमिली गर्ल्स होस्टेल’ लाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

काठमाडौंको कोटेश्वरस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३ लाख रुपैयाँ जरिवाना गर्दै सञ्चालनमा रोक लगाएको छ।

छात्राहरूलाई मानसिक यातना दिएको, रातको समयमा जबरजस्ती बाहिर निकालेको तथा गुणस्तरहीन खाना खुवाएको पुष्टि भएपछि प्रशासनले उक्त कारबाही गरेको हो।

काठमाडौं महानगरपालिका–३२, अमरावती मार्गमा सञ्चालित उक्त होस्टेलमा मंगलबार जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका र होस्टेल व्यवसायी संघको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनका क्रममा होस्टेलले सञ्चालनका न्यूनतम मापदण्डहरू पालना नगरेको, वडामा मात्र दर्ता गरेर सम्बन्धित निकायबाट अनुमति नलिएको, भर्ना गर्दा प्यान बिल जारी नगरेको तथा सिसिटिभी क्यामरासमेत जडान नगरेको पाइएको छ।

यस्तै, होस्टेलमा जिम्मेवार वार्डेन नराखिएको, विद्यार्थीहरूसँग गैरजिम्मेवारपूर्ण व्यवहार गर्दै मानसिक यातना दिने गरिएको र गुणस्तरहीन खाना खुवाउने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विशेषगरी रातिको समयमा छात्राहरूलाई अमर्यादित ढङ्गले बलजफती बाहिर निस्कन बाध्य पारेको कैफियत अनुगमन टोलीले फेला पारेको थियो।

होस्टेल सञ्चालनमा देखिएको चरम लापरबाहीका कारण उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिम कसुर प्रमाणित भएपछि सोही ऐनको दफा ३९ (१) ‘ख’ अनुसार ३ लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए।

प्रशासनले उक्त होस्टेल सञ्चालनमा तत्काल रोक लगाउँदै थप कारबाहीका लागि ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिएको छ।

प्रकाशित: २ भाद्र २०८३ १८:५९ मंगलबार