बाँके राष्ट्रिय निकुञ्जमा रहेका सरकारी हात्तीहरूको पूजा गरी बिहीबार परम्परागत रूपमा हात्ती पूजा (असारे पूजा) मनाइएको छ।
हरेक वर्ष असार महिनामा मनाइने यस परम्पराअनुसार निकुञ्जको हात्तीसारमा रहेका ६ वटा हात्तीलाई विशेष रूपमा सजाएर पूजा गरिएको हो।
पूजा कार्यक्रममा वन तथा वातावरण संरक्षणसँग सरोकार राख्ने निकायका प्रतिनिधि, निकुञ्जका कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो। निकुञ्जमा संरक्षण, गस्ती, वन्यजन्तु व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुँदै आएका हात्तीलाई सम्मान स्वरूप पूजा गर्ने परम्परा रहँदै आएको छ। पूजा गरेपछि हात्तीलाई मनपर्ने उखु, केरा, बन्दागोभी, काक्रो, कुसलगायतका खानेकुरा खुवाइएको थियो।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले हात्ती पूजाले वन्यजन्तु र मानवबिचको सहअस्तित्व कायम गर्न तथा वन क्षेत्रमा हुने सम्भावित क्षति न्यूनीकरणको सन्देश दिने विश्वास व्यक्त गरे। उनले हात्ती संरक्षणसँगै मानव–हात्ती द्वन्द्व कम गर्ने उद्देश्यले पनि यस्तो परम्परालाई निरन्तरता दिइएको बताए।
निकुञ्जका अनुसार असारे पूजाले मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबालीमा जङ्गली हात्तीबाट हुने क्षति कम होस् भन्ने धार्मिक तथा सांस्कृतिक विश्वाससमेत रहेको छ। साथै वन क्षेत्रमा कार्यरत महावत तथा हात्तीको सुरक्षा र कल्याणको कामना गर्दै पूजा गर्ने परम्परा रहेको जनाइएको छ।
हात्तीसार केन्द्र बुचापुरका शालिकराम यादवले हात्ती पूजा धार्मिक अनुष्ठान मात्र नभई हात्तीप्रति सम्मान व्यक्त गर्ने र संरक्षणप्रतिको जनचेतना बढाउने अवसरका रूपमा लिइने बताए। उनका अनुसार यसले मानव र हात्तीबिचको सम्बन्धलाई अझ सौहार्दपूर्ण बनाउन सहयोग पुर्याउछ।
बाँके राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको हात्ती पूजाले परम्परागत संस्कृतिको संरक्षणसँगै जैविक विविधता संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने सन्देश दिएको आयोजकको विश्वास छ।
प्रकाशित: १८ असार २०८३ १७:२० बिहीबार

-600x400.jpg)

