पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।
विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए ।
चितवनको पर्यटन, सम्भावना र चुनौतीसम्बन्धी अन्तक्रिया, विभिन्न प्रतियोगितालगायत कार्यक्रमहरु गरिने संयोजक थपलियाले बताए । उनका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ ।
महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा बृद्धि हुने अनुमान आयोजकले गरेको छ । संयोजक थपलियाका अनुसार यस अवधिमा आएका पाहुनाका लागि क्षेत्रीय होटल सङ्घ र रेवान सौराहामा आबद्ध सदस्यहरूले होटल तथा रेष्टुरेन्टमा आवास र खानामा १० प्रतिशत छुट गर्ने सहमति भएको छ ।
महोत्सवमा २५ वटा विभिन्न सामग्रीसहितका स्टल (कक्ष) रहने क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए । सो अवधिमा २० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको उल्लेख गर्दै उनले जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा रहेको चितवनमा सफारी पर्यटनको विकासका लागि हात्तीबिना कल्पना गर्न नसकिने बताए ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा हो । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक यहाँका होटलमा बस्ने गर्दछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा प्रख्यात मानिन्छ । कम पर्यटक आउने समयमा पर्यटकीय गतिविधि बढाउनका लागि हरेक वर्ष यो समयमा महोत्सव गर्ने गरिएको आयोजकले जनाएको छ । यसले पर्यटन प्रवर्द्धनका साथै रोजगारीका अवसर सृजना हुने अपेक्षा आयोजकको छ ।
प्रकाशित: १४ मंसिर २०८२ १४:३३ आइतबार



