पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ।
दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई पक्राउ गरिएको छ।
हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा पोखरा–६ दिगोपाटनका १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।
घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने ५२ वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १९ असार २०८३ १२:४५ शुक्रबार



