समाज

फेवातालमा विपत् उद्धार अभ्यास

फेवातालमा विहीबार गरिएको विपत् अभ्यास। तस्बिरः नागरिक

हावाहुरीको बेला कहिले छालको तनाव त कहिले डुंगा दुर्घटना, बेलाबेला पौडी खेल्न गएका व्यक्तिले डुबेर ज्यानै फाल्ने। बुधबार पनि तालमा पौडिने क्रममा डुबेर एकजना युवकको ज्यानै गएको थियो।

फेवातालमा बेलाबेला यस्तै खालका विपतका घटना हुने गरेका छन्। नियमित जसो तालमा विपतका घटना हुन थालेपछि विहीबार तालमा विपत उद्धार सम्बन्धि अभ्यास नै गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला सुरक्षा समितिको सहकार्यमा यो अभ्यास गरिएको थियो।  

‘विपद् आकस्मिक र अकल्पनीय रुपमा आउँछ, त्यसैले पूर्वतयारी गरौं, सुरक्षित बनौं’ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभ्यासमा फेवातालमा हुन सक्ने सम्भावित जलजन्य विपत् तथा दुर्घटनामा अपनाइने खोज तथा उद्धार प्रक्रिया, समन्वयात्मक कार्यशैली, सुरक्षा व्यवस्थापन तथा उद्धार उपकरणको प्रयोग सम्बन्धि प्रदर्शन गरिएको थियो।  

विशेषगरी पानीभित्र हराएका वा दुर्घटनामा परेका व्यक्तिको खोजी तथा उद्धारका लागि गोताखोर टोलीको भूमिका, क्षमता र चुनौतीलाई व्यवहारिक रुपमा यो अभ्यासमा प्रस्तुत गरिएको थियो। तालको पानीभित्रको दृश्य अत्यन्त कम हुने भएकाले गोताखोरले प्रायः डोरी मार्फत सञ्चार तथा समन्वय कायम गरी काम गर्ने उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन्।  

तालका गहिरा भाग, खोच, इनार, सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा हराएका व्यक्तिको खोजीका लागि गोताखोर टोली परिचालन गर्ने गरिएको छ। विपतमा उद्धारका लागि खटिने सुरक्षाकर्मीका अनुसार तालभित्रको उद्धार झनै जोखिमपूर्ण हुने गर्दछ, किनकि पानीभित्रको दवाव वायुमण्डलीय दवाव भन्दा बढी हुने, तालभित्र रहेका ग्याविन वायर, फलामका टुक्रा, जाल वा अन्य अवरोधमा डोरी अड्किने वा चुडिने जोखिम रहने गर्दछ। कतिपय स्थानमा पानीजन्य हिंस्रक जीवजन्तुसँग समेत सामना गर्नुपर्ने उनीहरुको भनाई छ।  

जोखिमपूर्ण परिस्थितिका बावजुद गोताखोर उद्धारकर्मीले आफ्नो जीवनको जोखिम मोलेर पीडित तथा प्रभावित नागरिकको उद्धार गर्दै आएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन। हिमालदेखि तराईसम्मका नदी, तालतलैया, खोच तथा सुरुङमा विभिन्न समयमा जीवित व्यक्तिको सकुशल उद्धार तथा मृतकको शव खोजी गरी पीडित परिवारको दुःखमा साथ दिने मानवीय कार्य सुरक्षाकर्मीले निरन्तर गरिरहेको उनले बताईन।  

‘उद्धारको सिलसिलामा कतिपय गोताखोरले आफ्नो अमूल्य जीवन समेत गुमाउनुपरेको छ,’ उनले भनिन। यो अभ्यासले अभ्यासले विपद् पूर्वतयारी, समन्वयात्मक उद्धार क्षमता अभिवृद्धि तथा आम नागरिकमा विपद् सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई छ।  

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर भएपनि त्यो सँगै बाढी, पहिरो, डुबान तथा ताल क्षेत्रमा हुने दुर्घटनाका हिसाबले संवेदनशील रहेको बताए। विपत् व्यवस्थापनमा घटना पछिको राहतभन्दा पूर्वतयारी, पूर्वसूचना, सचेतना र उद्धार क्षमता अभिवृद्धि अत्यन्त आवश्यक रहेको उनले बताए।  

प्रदेश सरकारले फेवाताल र बेगनास तालमा वाच टावर निर्माण, उद्धार बोट हस्तान्तरण, विपत उद्धार सामग्री व्यवस्थापन, गोताखोर तथा कम्युनिटी सर्च एण्ड रेस्क्यू तालिम, कृत्रिम अभ्यास लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। प्रदेशका ११ वटै जिल्लाका विपद् व्यवस्थापन कोष र प्रदेश विपत व्यवस्थापन कोषमार्फत राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको पनि मुख्यमन्त्री पाण्डेले बताए। ‘विपद् व्यवस्थापन सबैको साझा जिम्मेवारी हो। पूर्वतयारी, समन्वय र सहकार्यबाट मात्रै सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने। 

प्रकाशित: ७ जेष्ठ २०८३ १५:३० बिहीबार

पोखरा फेवाताल विपत् उद्धार अभ्यास