जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी प्रतिष्ठान जलाउनेलाई कानुनी कारबाही गर्न माग गरिएको छ।
सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउनेमाथि कानुनी कारबाही नगर्न प्रहरीलाई दबाब दिएपछि धर्मराज तिमिल्सिनाले यस्तो माग गरेका हुन्। उनले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई निवेदन दिएर कानुनी कारबाहीका लागि आग्रह गरेका थिए।
प्रहरीले सामाजिक सञ्जालका फोटो, भिडिओमा देखिएका आधारमा केही व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही थालेपछि गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कारबाही नगर्न प्रहरीलाई दबाब दिइएको थियो।
तिमिल्सिनाले गृहमन्त्री अर्याललाई बुझाएको ज्ञापन पत्रमा जेनजी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतङ्क फैलाउने अमानवीय कार्य भएकाले कानुनी कारबाही आवश्यक रहेको उल्लेख गरेका छन्।
‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण रहेको छ। नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको छ,’ सो निवेदनमा उल्लेख गरिएको छ।
तर तोडफोडमा संलग्न रहेकाहरूलाई प्रहरीले पक्राउ गरेको भए पनि हाजिर जमानीमा छाडेको छ।
प्रकाशित: २० आश्विन २०८२ १४:०५ सोमबार



