समाज

दीपक भट्ट-शुलभ अग्रवाल प्रकरण: ५३ अर्ब बिगो ८ करोड धरौटी

वित्तीय अपराधमा अर्बौं रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिए पनि अदातलबाट आरोपितलाई करोड धरौटीमा छाड्ने आदेश भएको छ।

धितोपत्र बजार चलखेल, बिमा कम्पनीहरूको कोष दुरुपयोग मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाललाई अदालतले ८ करोड ३० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। भट्ट र अग्रवालविरुद्ध धितोपत्र बजारमा चलखेल, बिमा कोष दुरुपयोग मुद्दामा करिब ५३ अर्ब रुपैयाँ बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि यी दुवैलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्ष थुनामै राख्न आदेश दिएकाले धरौटी बुझाए पनि उनीहरू थुनामै रहने छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन तथा धितोपत्रसम्बन्धी फरकफरक मुद्दामा बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले बिमा ऐनअन्तर्गतको मुद्दामा अग्रवालसँग दुई करोड रुपैयाँ र भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी मागेको छ।

त्यसैगरी धितोपत्रसम्बन्धी फरकफरक मुद्दामा अग्रवालसँग दुई करोड ३० लाख रुपैयाँ र एक करोड ५० लाख तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी मागिएको छ। यसरी दुवैबाट कुल आठ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको हो। अर्बौं रुपैयाँ बिगो मागदाबी गरिएको मुद्दामा करोड धरौटी माग भएपछि मुद्दा दायर गर्ने निकायमाथि प्रश्न उठेको छ। मुद्दाको अनुसन्धान तथा अभियोग फितलो देखिएको छ।

मुख्य प्रतिवादी भट्टविरुद्ध बिमा तथा धितोपत्रसम्बन्धी मुद्दामा गरी करिब २६ अर्ब ७५ करोड रुपैयाँबराबरको उनीविरुद्ध बिमा ऐनअन्तर्गत २५ अर्ब ५९ करोड २० लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। साथै धितोपत्रसम्बन्धी कसुरमा १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसाबराबरको हानि–नोक्सानी पुर्‍याएको अभियोग उनीविरुद्ध छ। दुवै जनाविरुद्धको कुल बिगो मागदाबी ५३ अर्ब रुपैयाँभन्दा बढी छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले धितोपत्र बजारमा कृत्रिम चलखेल गरी लगानीकर्तालाई नोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको हो।

अभियोगपत्रअनुसार भट्टमाथि नेपाल रि–इन्स्योरेन्सको सेयर मूल्य प्रभावित पार्ने उद्देश्यले हिमालयन रि–इन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिसेज, हिमालयन लाइफ इन्स्योरेन्सलगायत संस्थाको रकम प्रयोग गरी बजारमा चलखेल गरेको आरोप छ।

अग्रवालमाथि पनि विभिन्न बिमा तथा वित्तीय संस्थाको रकम प्रयोग गरी नेपाल रि–इन्स्योरेन्स तथा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य प्रभावित पारेर व्यक्तिगत लाभ लिएको अभियोग छ।

प्रकाशित: २ श्रावण २०८३ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App